
एजेन्सी । युक्रेनमाथि रुसले सोमबार गरेको व्यापक हवाई आक्रमणमा पूर्वी सहर खार्किभमा पाँच उद्धारकर्मीको मृत्यु भएको छ भने राजधानी किएभमा कम्तीमा २० जना घाइते भएका छन् । आक्रमणका कारण आवासीय भवनहरूमा आगलागी हुनुका साथै देशको महत्त्वपूर्ण धार्मिक तथा सांस्कृतिक सम्पदामध्ये एकमा पनि क्षति पुगेको छ ।
युक्रेनका गृहमन्त्री इहोर क्लाइमेन्कोका अनुसार खार्किभमा पहिलो आक्रमणबाट लागेको आगो निभाउने क्रममा पुगेका उद्धारकर्मीहरू दोस्रो रुसी आक्रमणको निशानामा परेका थिए । घटनामा कम्तीमा पाँच अन्य आपतकालीन सेवाकर्मी घाइते भएका छन् ।
राजधानी किएभमा रातभर शक्तिशाली विस्फोटहरूको आवाज सुनिएको थियो । ब्यालिस्टिक क्षेप्यास्त्र र शाहेद ड्रोनमार्फत गरिएको आक्रमणका कारण धेरै बासिन्दाले भूमिगत आश्रयस्थलमा शरण लिएका थिए । अधिकारीहरूले सर्वसाधारणलाई सुरक्षित स्थानमा बस्न आग्रह गरेका थिए ।
‘किएभ मुख्य निशानामा परेको छ । नागरिक पूर्वाधारमा ठूलो क्षति पुगेको छ,’ गृहमन्त्री क्लाइमेन्कोले भने ।
किएभ सहर सैन्य प्रशासनका प्रमुख टिमुर तकाचेन्कोका अनुसार एक बालकसहित कम्तीमा २० जनाले उपचारका लागि स्वास्थ्य सेवा लिएका छन् । उनले शेभचेन्किभ्स्की जिल्लामा ३० मिनेटभन्दा कम समयमा पाँचवटा आक्रमण भएको जानकारी दिए ।
प्रभावित संरचनामध्ये २५ तले आवासीय भवन, एक बजार र एक किराना पसल रहेका छन् । ओबोलोन्स्की जिल्लामा भने नौ तले आवासीय भवनमा प्रत्यक्ष प्रहार भएको बताइएको छ ।
तकाचेन्कोले रुसले जानाजानी आवासीय भवनहरूलाई निशाना बनाएको आरोप लगाए । ‘यो उनीहरूको सचेत निर्णय हो,’ उनले भने ।
आक्रमणबाट किएभ-पेचेस्र्क लाभ्रा मठ परिसरमा पनि ठूलो क्षति पुगेको छ । उक्त परिसरमा आगलागी भएको तकाचेन्कोले जानकारी दिँदै रुसले ‘विश्वकै प्रमुख क्रिश्चियन तीर्थस्थलमध्ये एकको केन्द्रमा प्रहार गरेको’ आरोप लगाए ।
युक्रेनको अर्थोडक्स चर्चका प्रमुख मेट्रोपोलिटन एपिफेनियसका अनुसार रातभरको आक्रमणका क्रममा डोर्मिशन क्याथेड्रलको छानामा आगलागी भएको थियो । उनले यस घटनालाई ‘मानवता, इतिहास र ईसाई धर्मविरुद्धको अर्को रुसी अपराध’ भन्दै निन्दा गरे ।
‘गुफाहरूको मठ’ पनि भनिने किएभ-पेचेस्र्क लाभ्रा ११औँ देखि १९औँ शताब्दीसम्म निर्माण गरिएका मठ, चर्च र भूमिगत गुफाहरूको विशाल धार्मिक परिसर हो । यो युनेस्को विश्व सम्पदा सूचीमा सूचीकृत स्थल हो ।
डनिप्रो नदीको दायाँ किनारमा अवस्थित यो ऐतिहासिक धार्मिक स्थल शताब्दीयौँ देखि तीर्थयात्रीहरूको प्रमुख गन्तव्यका रूपमा परिचित छ ।
Copyright © Nepal Profit - 2026 / Developed By Webtech Nepal