• Menu
s

विश्वकप २०२६ : टर्कीमाथि अष्ट्रेलियाको सानदार जित

नेपाल प्रफिट

२०८३ जेठ ३१, १२:३१

विश्वकप २०२६ : टर्कीमाथि अष्ट्रेलियाको सानदार जित

काठमाडौं  । फिफा विश्वकप २०२६ अन्तर्गत पहिलो खेलमा अष्ट्रेलियाले बलियो मानिएको टर्कीलाई २-० ले पराजित गर्दै प्रतियोगितामा उत्कृष्ट सुरुआत गरेको छ ।

खेलको २७औँ मिनेटमा नेस्टोरी इरानकुण्डाले पाउल ओकोन-एङ्स्टलरको पासमा आकर्षक गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । ओकोन-एङ्स्टलरले दिएको लामो पासलाई नियन्त्रणमा लिएर इरानकुण्डाले डिफेन्डरहरूलाई छल्दै सहज फिनिस गरेका थिए ।

खेलमा युवा गोलरक्षक प्याट्रिक बिच पनि नायक सावित भए। सुरुआती टोलीमा अप्रत्याशित रूपमा अवसर पाएका उनले टर्कीका धेरै खतरनाक प्रयास विफल पार्दै अष्ट्रेलियाको अग्रता जोगाए । पहिलो हाफमा उनले गरेको उत्कृष्ट बचाउ प्रतियोगिताकै उत्कृष्ट ‘सेभ’ मध्ये एक मानिएको छ ।

दोस्रो हाफमा टर्कीले बराबरी गोलका लागि लगातार दबाब सिर्जना गरे पनि अष्ट्रेलियाली रक्षापंक्तिले उत्कृष्ट प्रदर्शन गर्‍यो। टर्कीका विङ्गर केनान यिल्दिज मैदान प्रवेश गरेपछि आक्रमण धारिलो बने पनि टोली गोल गर्न असफल रह्यो ।

खेलको अन्त्यतिर अष्ट्रेलियाले अग्रता दोब्बर बनायो। काउन्टर आक्रमणका क्रममा कोनर मेटकाल्फले पेनाल्टी क्षेत्र बाहिरबाट प्रहार गरेको शक्तिशाली बायाँ खुट्टाको शट गोलमा परिणत भएपछि अष्ट्रेलिया २-० ले अघि बढ्यो।

गोलपछि अष्ट्रेलियाली खेलाडी तथा समर्थकहरू उत्साहपूर्वक उत्सव मनाएका थिए। पहिलो गोलकर्ता इरानकुण्डाले अष्ट्रेलियाका पूर्व स्टार टिम काहिलको चर्चित ‘कर्नर फ्ल्याग सेलिब्रेसन’ दोहोर्याउँदै समर्थकहरूको मन जितेका थिए ।

यस जितसँगै अष्ट्रेलियाले विश्वकप २०२६ अभियानमा आत्मविश्वासपूर्ण सुरुआत गरेको छ भने टोलीका युवा खेलाडीहरूले भविष्यका लागि ठूलो आशा जगाएका छन् ।