धनुषा । मधेस प्रदेशमा चालु आर्थिक वर्षको १० महिनामा १८.८ प्रतिशतमात्र खर्च भएको छ । मधेस प्रदेश लेखा नियन्त्रणको कार्यालय जनकपुरधामले मधेस प्रदेश सरकारको कुल बजेट ४४ अर्ब ११ करोड ४० लाख ३२ हजारमध्ये उक्त अवधिमा १८.८ प्रतिशतमात्र खर्च भएको जनाएको हो ।
उक्त अवधिमा चालु खर्चतर्फ २४.६४ प्रतिशत अर्थात् चार अर्ब ४६ करोड ७४ लाख ६८ हजार र पुँजीगततर्फ १४.४४ प्रतिशत अर्थात् तीन अर्ब ६९ करोड २१ लाख ८० हजार बजेट खर्च भएको कार्यालयका लेखा अधिकृत मनोज झाले जानकारी दिए ।
मधेस प्रदेशको वर्तमान सरकारमा सम्बन्धित मन्त्रालयमा मन्त्रीको हेरफेर, सचिवलगायत कर्मचारीको अभाव, निमित्तको भरमा मन्त्रालय सञ्चालन हुनु, योजना र बजेट बाँडफाँडलगायत समस्याले लक्ष्यअनुसार विनियोजित बजेट खर्च नभएको उनले बताए ।
चालु आर्थिक वर्षको पूर्ण बजेटमध्ये चालुतर्फ १८ अर्ब ५४ करोड ५८ लाख तथा पुँजीगततर्फ २५ अर्ब ५७ करोड ७५ लाख ७४ हजार अर्थात् ४४ अर्ब ११ करोड ४० लाख ३२ हजार कुल बजेट रहेको सो कार्यालयले जनाएको छ । गत आर्थिक वर्षमा पनि कुल बजेटको ६१ प्रतिशतमात्र खर्च भएको थियो ।
आर्थिक वर्ष सकिन एक महिनामात्र बाँकी रहेकाले यही अवस्थामा यसपटक ५० प्रतिशतसमेत बजेट कार्यावन्यन हुन चुनौती रहेको जानकारहरूको भनाइ छ ।