• Menu

प्रचण्ड सरकारका ‘टप फाइभ’ धनाढ्यमा राष्ट्रिय स्वतन्त्र पार्टीका तीन जना, सबैभन्दा धनी को ?

नेपाल प्रफिट

२०८१ जेठ ८, २१:१९

प्रचण्ड सरकारका ‘टप फाइभ’ धनाढ्यमा राष्ट्रिय स्वतन्त्र पार्टीका तीन जना, सबैभन्दा धनी को ?

काठमाडौं । संघीय सरकारका मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक भएको छ । सरकारले मंगलबार मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक गरेको हो ।

सबैभन्दा धनाढ्य मन्त्रीहरुको ‘टप फाइभ’ सूचीमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का तीन जना परेका छन् । रास्वपाका सभापति उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने, उपसभापति श्रममन्त्री डोलप्रसाद अर्याल र सहमहामन्त्री एवं शिक्षामन्त्री सुमना श्रेष्ठ सबैभन्दा बढी सम्पत्ति भएका मन्त्रीहरुको शीर्ष पाँचमा परेका हुन् ।

सबैभन्दा धनी नेकपा एमालेका सचिव भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ देखिएका छन् । त्यस्तै नेकपा एकीकृत समाजवादीका नेता सहरी विकासमन्त्री धनबहादुर बुढा शीर्ष पाँच धनाढ्यभित्र छन् ।

रघुवीर महासेठ

संघीय सरकारका मन्त्रीहरुमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ सबैभन्दा धनी देखिएका छन् । उनको अधिकांश सम्पत्ति श्रीमती जुलीकुमारी महतोको नाममा रहेको विवरणमा उल्लेख छ ।

जुलीकुमारीको नाममा जनकपुर उपमहानगरपालिकामा ३ कठ्ठा, ललितपुरमा २ रोपनी १३ आना २ पैसा १ दाम, धनुषामा ७ बिघा ३ कठ्ठा, सिन्धुलीमा ४ कठ्ठा, ललितपुरमा १ रोपनी ७ आना र धनुषामा ३ कठ्ठा ११ धुर जग्गा रहेको सम्पत्ति विवरणमा उल्लेख छ ।

रघुवीर महासेठको नाममा भने जनकपुरमा १ बिघा १५ कठ्ठा जग्गा छ । यस्तै महासेठको बैंक ब्यालेन्स २ करोड २५ लाख तथा ४३ तोला सुन र डेढ किलो चाँदी छ । जुलीकुमारीको नाममा बैंक, फाइनान्स र लघुवित्तको गरी ३ करोड ५५ लाखको सेयर छ ।

डोलप्रसाद अर्याल

रास्वपा उपसभापति एवं श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्याल पनि धनाढ्य पाँचभित्रमा परेका छन् । उनले १५० तोला सुन, १०० तोला चाँदी र १० तोला हिरा रहेको उल्लेख गरी सम्पत्ति विवरण बुझाएका छन् ।

मन्त्री अर्याल र श्रीमती अम्बिका केसीसँग गरी २ करोडभन्दा बढी नगद बैंक तथा सहकारीमा छ । अर्यालको जनसागर सहकारीमा १ करोड ५० लाख, प्राइम बैंकमा १३ लाख, मेगा बैंकमा १ लाख र राष्ट्रिय वाणिज्य बैंकमा ४ लाख नगद रहेको सम्पत्ति विवरणमा उल्लेख छ ।

यस्तै श्रीमती केसीका नाममा जनसागर सहकारीमा १५ लाख, ग्लोबल आईएमई बैंकमा ५० लाख र हिमालयन बैंकमा २० लाख रुपैयाँ नगद रहेको विवरणमा उल्लेख छ । मन्त्री अर्याल दम्पतीको १२ ठाउँमा जग्गा छ भने काठमाडौं-१६ मा श्रीमती केसीको नाममा ३ करोड मूल्यबराबरको घर छ ।

रवि लामिछाने

उत्कृष्ट पाँच धनाढ्यमा रास्वपा सभापति उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने पनि परेका छन् । उनको अधिकांश सम्पत्ति श्रीमतीको नाममा छ । निकिताको नाममा काठमाडौंको बूढानीलकण्ठ-८ मा एउटा घर छ ।

पाँच आना क्षेत्रफलमा फैलिएको उक्त घर ३ करोड ५० लाख रुपैयाँमा चार वर्षअघि खरिद गरिएको सम्पत्ति विवरणमा उल्लेख छ । घर खरिदका लागि बैंकबाट लिएको ऋण डेढ करोड रूपैयाँ चुक्ता गर्न बाँकी रहेको उनले बताएका छन् ।

रवि लामिछानेको आफ्नै नाममा भक्तपुरमा १ रोपनी १ आना जग्गा पैतृक सम्पत्ति छ । निकिताको सेयर रहेको गोपीकृष्ण प्रालिको नाममा काठमाडौं-७ मा १० रोपनी जग्गा पारिवारिक सगोलको रुपमा छ । १० रोपनी ८ आनाको २५ प्रतिशत सेयर निकिताको हो ।

निकितासँग ८० तोला सुनका गरगहना छन् । अधिकांश सुन आमाबाबुबाट पाएको तथा केही खरिद गरेको सम्पत्ति विवरणमा उल्लेख छ । यस्तै चाँदीका भाँडाकुँडा १५ देखि २० किलो छन् ।

रविको ग्लोबल आईएमई र नेपाल बैंकको खातामा १ लाख १० हजार रुपैयाँ छ । निकिताको नेपाल बैंकको खातामा ५ लाख रूपैयाँ छ । गोपीकृष्ण सेन्ट्रल कम्प्लेक्समा निकिताको ८ लाख ७५ हजार कित्ता सेयर छ, जसको मूल्य ८ करोड ७५ लाख देखाइएको छ । निकिताले टाटा नेक्सन ईभी ४२ लाख रुपैयाँमा खरिद गरेको पनि सम्पत्ति विवरणमा उल्लेख छ ।

धनबहादुर बुढा

एकीकृत समाजवादीका नेता एवं सहरी विकासमन्त्री धनबहादुर बुढा पनि धनी मन्त्रीको सूचीमा शीर्ष पाँचभित्र छन् । मन्त्री बुढाका डोल्पामा पाँच र काठमाडौंमा दुई गरी सात वटा घर छन् ।

उनका डोल्पाको ठूलोभेरी नगरपालिका–३ मा पाँच रोपनीमा बनेका चार वटा घर छन् । सोही स्थानमा श्रीमती हिमाली बुढाको नाममा पनि सात तले एउटा घर छ । श्रीमती हिमालीको नाममा काठमाडौंमा एउटा १७ आना र अर्को २० आनामा बनेका घर छन् । काठमाडौंमै अर्को सात आना जमिन पैतृक रहेको सम्पत्ति विवरणमा उल्लेख छ ।

बुढाको नाममा १५० तोला सुन र तीन सय तोला चाँदी छ भने १५ लाख बैंक ब्यालेन्स छ । श्रीमतीको नाममा ४५ लाख नगद रहेको उनले उल्लेख गरेका छन् । उनीसँग एउटा हाइलक्स र एउटा प्राडो गाडी पनि रहेको सम्पत्ति विवरणमा खुलाइएको छ ।

सुमना श्रेष्ठ

रास्वपा सहमहामन्त्री एवं शिक्षामन्त्री सुमना श्रेष्ठको नाममा काभ्रेमा ९ लाख ९४ हजारमा खरिद गरेको जग्गा छ । सम्पत्ति विवरणअनुसार मन्त्री श्रेष्ठको एनआईसी एसिया बैंकको खातामा १ करोड १५ लाख र एभरेस्ट बैंकमा ३७ लाख रुपैयाँ रहेको उनले खुलाएकी छन् ।

सम्पत्ति विवरणमा उल्लेख भएअनुसार मन्त्री श्रेष्ठका श्रीमान पोल्यान्डका नागरिक पावल स्वविन्स्कीको खातामा भएको रकमसमेत जोड्दा साढे ४ करोड रुपैयाँ पुग्छ ।

उनका श्रीमान स्वविन्स्कीको नाममा एक विदेशी बैंकमा १ लाख ८९ हजार ७ सय डलर छ, जसको नेपाली रुपैयाँ २ करोड ४१ लाख रुपैयाँ हुन्छ । स्वविन्स्कीकै नाममा पोल्याण्डको मुद्रा पनि १ लाख ८० हजार छ । यो नेपाली रुपैयाँ ६१ लाख ३२ हजार हुन्छ ।

त्यस्तै विवाह र हजुरआमाको शेषपछि प्राप्त ११ तोला सुन, बिहेका बेला उपहार पाएको १ सय तोला चाँदी र १-१ सेट हिराको हार र टप रहेको उनले उल्लेख गरेकी छन् ।

एउटा स्कुटर र २० लाख रुपैयाँमा खरिद गरेको ईभी गाडी रहेको पनि उनले विवरणमा उल्लेख गरेकी छन् ।