काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले लोकतान्त्रिक अभ्यासको अनुशरण गरी संसदको गतिरोध अन्त्य गर्न प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसलाई आग्रह गरेका छन् ।
प्रतिनिधिसभाको आज सोमबारको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको संविधानको धारा १०० को उपधारा २ बमोजिम विश्वासको मतका लागि गरेको प्रस्तावको समर्थन गर्दै पौडेलले मुलुकमा राजनीतिक स्थिरताका लागि संसद्को गतिरोध अन्त्य हुनुपर्ने बताए ।
‘राजनीतिक स्थिरता कायम गर्दै मुलुकलाई गति दिन र सरकारलाई साथ दिन सबै दलहरुलाई म आग्रह गर्दछु । नेपाली कांग्रेसले आफ्नो भूमिकालाई पुनर्विचारसहित लोकतान्त्रिक अभ्यास अनुशरण गरेर अघि बढ्न आह्वान गर्दछु,’ उनले भने ।
अहिलेको सरकारले सुशासन प्रत्याभूतिको सन्देश दिएको, नागरिक तहमा रहेको निरासा चिरेको र पछिल्ला प्रयासबाट आशाको सञ्चार हुँदै गएको पौडेलले दाबी गरे ।
सहकारी संस्थाहरुको रकम हिनामिनाका सन्दर्भमा संसदीय छानबिन समिति गठनको माग गर्दै प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले संसदमा विरोध गरिरहेको छ ।