काठमाडौँ । नेपाल प्रहरीले इन्टरपोलबाट रेड नोटिस जारी भएका दुई जनालाई संयुक्त अरब इमिरेट्स (यूएई) मा पक्राउ गरी नेपाल ल्याएको छ ।
प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखाले ज्यानसम्बन्धी कसुर मुद्दा र विद्युतीय कारोबार कसुरसम्बन्धी मुद्दामा रेड नोटिस जारी भएका दुई जना फरार प्रतिवादीलाई पक्राउ गरी नेपाल ल्याएर शुक्रबार सार्वजनिक गरेको हो ।
पक्राउ पर्नेमा मोरङ लेटाङ नगरपालिका-३ का ४१ वर्षीय बलबहादुर लिम्बू र नवलपरासी पूर्वमध्यबिन्दु नगरपालिका-१३ का २३ वर्षीय सन्तोष न्यौपाने छन् । एनसीबी अबुधावी यूएईको समन्वयमा पक्राउ परेका उनीहरुलाई बिहीबार नेपाल ल्याइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
ज्यानसम्बन्धी कसुर मुद्दामा पक्राउ परेका बलबहादुर उपर जिल्ला अदालत मोरङबाट पक्राउ पुर्जी जारी भएको थियो । विद्युतीय कारोबार कसुरसम्बन्धी मुद्दामा सन्तोष उपर जिल्ला अदालत काठमाडौँबाट पक्राउ पुर्जी जारी भएको थियो । दुवैजना वैदेशिक रोजगारीको सिलसिलामा यूएईमा रहेका खुल्न आएपछि इन्टरपोलमार्फत पक्राउ गरिएको हो ।
बलबहादुरलाई इलाका प्रहरी कार्यालय लेटाङ मोरङ र सन्तोषलाई नेपाल प्रहरी प्रधान कार्यालय साइबर ब्युरोमा आवश्यक अनुसन्धान एवं कारबाहीका लागि बुझाइएको नेपाल प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखाले जनाएको छ ।