झापा । जिल्ला प्रहरी कार्यालय झापाले १० महिनामा ३७२ लागु औषध कारोबारीलाई पक्राउ गरेको छ । प्रहरीले जिल्लाका विभिन्न स्थानबाट लागु औषध सेवनकर्ता, विक्रेता र ओसारपसारमा संलग्नलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमध्ये २५ महिला रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दले जानकारी दिए । लागु औषध कारोबारमा संलग्नमध्ये स्वदेशी ३२५ पुरुष र २५ महिला तथा १८ विदेशी पुरुष र चार विदेशी महिला छन् । यो अवधिमा झापामा लागु औषधका २४० वटा मुद्दा दर्ता भएका छन् ।
लागु औषध कारोबारमा संलग्नलाई पक्राउ गरी प्रहरीले गरेको अनुसन्धानका क्रममा जिल्लामा हुने आपराधिक गतिविधिमा संलग्नमध्ये ७० देखि ९० प्रतिशतसम्म उनीहरुको हात रहने खुलेको छ ।
लागु औषध नियन्त्रणका लागि प्रहरीले दिनहुँजसो सचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आए पनि भारतको पश्चिम बंगाल र बिहारसँग झन्डै १४४ किलोमिटर क्षेत्र खुला सीमा भएका कारण लागु औषध नियन्त्रणमा प्रहरीलाई चुनौती थपिएको हो ।
दिनानुदिन लागु औषध प्रयोगकर्ताको संख्या बढ्दै गएको पाइएपछि जिल्ला प्रहरी कार्यालयले अहिले ‘लागु औषध नियन्त्रणमा आमाहरु’ नामको कार्यक्रम सञ्चालन गरेको प्रहरी उपरीक्षक मिलन केसीले जानकारी दिए ।
अहिले जिल्लाका १५ वटै पालिकामा यो कार्यक्रम सञ्चालनमा छ । स्थानीय तहसँग साझेदारी गर्दै प्रहरीले टोलटोलमा पुगेर ‘लागु औषध नियन्त्रणमा आमाहरु’ नामक कार्यक्रम सञ्चालन गरिरहेको छ ।