• Menu

देश ठप्प पार्ने काम स्वीकार्य हुँदैन, कांग्रेसले जे भन्छ, त्यही मान्न सकिँदैन : ओली

नेपाल प्रफिट

२०८१ जेठ ४, शुक्रबार २०:३२

देश ठप्प पार्ने काम स्वीकार्य हुँदैन, कांग्रेसले जे भन्छ, त्यही मान्न सकिँदैन : ओली

पर्सा । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जेठ १५ भित्रै बजेट ल्याउनुपर्ने संवैधानिक बाध्यता भएकाले संसद्को गतिरोध अन्त्य गरेर अगाडि बढ्नुपर्ने बताएका छन् ।

नेकपा एमाले पर्साको नवौँ जिल्ला अधिवेशनबाट नवनिर्वाचित कार्यसमिति र लेखासमितिका पदाधिकारी एवं सदस्यको शपथग्रहण कार्यक्रमलाई ओलीले नीति, कार्यक्रम र बजेट ल्याउनुपर्ने संवैधानिक बाध्यता भएकाले संसद्को गतिरोध अन्त्य गरेर अगाडि बढ्नुपर्ने बताए ।

‘जेठ १५ भित्र अहिले बजेट ल्याउनुपर्ने संवैधानिक बाध्यता भएकाले संसद्सँग थोरै समय छ । त्यसअघि नीति तथा कार्यक्रम पारित गर्नुपर्नेछ । त्यसकारण संसद् चलाउनैपर्छ,’ अध्यक्ष ओलीले भने, ‘देश ठप्प पार्ने काम स्वीकार्य हुँदैन । नेपाली कांग्रेसले जे–जे भन्छ त्यही मान्न सकिँदैन ।’

अध्यक्ष ओलीले कुनै पनि व्यक्तिलाई आरोप लगाइसकेपछि संसद्मा बोल्न दिनुपर्ने बताए । ‘कांग्रेसले एक जना मान्छेलाई आरोप लगाउँछ । ममाथि लगाएको आरोपका बारेमा संसद्मा बोल्छु भन्दा पनि बोल्न दिँदैन । बोल्न पाइँदैन, आयोग बनाउनुपर्छ भन्छ । आरोप लगाएपछि बोल्न त पाउनुपर्‍यो नि Û’ अध्यक्ष ओलीले भने ।

अब कांग्रेस पनि संसद् चलाउन तयार हुनुपर्ने उनले बताए । संसद् विघटन गर्ने ठाउँमा पुर्‍याउन खोज्दैछन् भनेर आफूविरुद्ध कांग्रेसले हाउगुजी फैलाउने काम गरिरहेको प्रति उनले कटाक्ष गरे ।

‘कांग्रेसले संसद विघटनको हाउगुजी फैलाउने खालको झुट बोलेको छ । बेइमानी कुरा गरेको छ,’ उनले भने, ‘त्यस्ता कुरा पत्याएर हिँड्ने होइन ।’ कार्यक्रममा एमाले पर्साका नवनिर्वाचित अध्यक्षसहित १२७ जना पदाधिकारी र सदस्यले शपथग्रहण गरेका छन् ।