काठमाडौँ । सरकारले फिनल्यान्डबाट प्राप्त हुने करिब १ करोड ३० लाख (१३ मिलियन) युरो अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले जलवायु पविर्तन अनुकूलन कार्यक्रम कार्यान्वयन गर्न फिनल्यान्ड सरकारबाट प्राप्त हुने करिब १३ मिलियन युरो अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको हो ।
त्यस्तै सरकारले न्यूनतम पारिश्रमिक निर्धारण समितिको अध्यक्षमा पत्रकार संगीता खड्कालाई नियुक्त गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् । काठमाडौँ निवासी खड्का यसअघि पनि समितिको अध्यक्ष थिइन् ।
सरकारले श्रमजीवी पत्रकारसम्बन्धी ऐन २०५१ र नियमावली २०५३ को व्यवस्थाबमोजिम श्रमजीवी पत्रकार, कर्मचारी र कामदारको पारिश्रमिक निर्धारण, परिश्रमिकमा पुनरावलोकन, पदको तहगत वर्गीकरणलगायत कार्यका साथै सञ्चार प्रतिष्ठानको अनुगमनको निम्ति २०६४ सालमा समितिको गठन गरेको छ ।
बैठकले नीति अनुसन्धान प्रतिष्ठान विकास समितिको कार्यकारी अध्यक्षमा प्रा. डा. लेखनाथ शर्मालाई नियुक्त गरेको छ ।
त्यस्तै नेपाल प्रशासनिक सेवा, समूहीकरणअन्तर्गत राजपत्रांकित विशिष्ट श्रेणीको पदमा लोकनाथ पौडेल र नेपाल कृषि वन सेवा, समूहीकरणअन्तर्गत राजपत्रांकित विशिष्ट श्रेणीको पदमा राजेन्द्रप्रसाद मिश्रलाई बढुवा गर्ने निर्णय गरेको मन्त्री शर्माले जानकारी दिइ ।