काठमाडौं । देशमा राणा शासन गयो, राजतन्त्र गयो, ठूल्ठूला राजनीतिक परिवर्तन भए, प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्र आउनुपर्ने जति सबै आयो । तर, युवाका लागि रोजगारी आएन । पेट पाल्ने आधार आएन ।
त्यसैले त गाउँहरू रित्तिँदै छन्, सहरहरु युवाविहीन बन्दै छन् । कहाँ गए युवा ? किन रित्तिए गाउँ र सहरहरु ? यसको उत्तर सजिलो छ । देशमा काम नपाउँदा युवा श्रमका लागि परदेश पुगे ।
अहिलेसम्म कुनै पनि सरकारले युवालाई देशभित्रै रोक्ने उपाय सोचेन । रोजगारी सिर्जना गर्ने कुनै योजना ल्याएन । बरु युवालाई विदेश पठाउने र रेमिट्यान्स ल्याएर देश चलाउने ध्याउन्नमा केन्द्रित भए ।
युवालाई विदेश पठाउन मेनपावर, कन्सल्टेन्सी लगायतको लाइसेन्स बेचेर खर्चको जोहो गरे । उत्पादन गर्नुपर्छ भनिरहे तर युवा विदेश पठाउन छाडेनन् । युवालाई विदेश पठाइदिन्छु भनेर भाषण ठोकिरहे ।
अहिले बाध्यताले परदेशिएका तिनै युवाले पठाएको पैसाले देशको अर्थतन्त्र धान्नुपर्ने अवस्था आएको छ । युवाले विदेशमा श्रम बेचेर पठाएको पैसा रेमिट्यान्स हो । अहिले कुल रेमिट्यान्सको आकारले देशको अर्थतन्त्रको कुल आकारको करिब २५ प्रतिशत बराबर छ । तर, तत्कालका लागि विदेशी मुद्रा जोहो गर्न परदेसिएका युवाको योगदान राम्रो देखिए पनि दीर्घकालका लागि ठिक हुँदै होइन ।
अब यहाँ एउटा प्रश्न उठछ ? युवा विदेशिनु देशका लागि फाइदा हो कि घाटा ?
आजको यो भिडियोमा मैले यसैबारे चर्चा गर्ने प्रयास गरेको छु । भिडियो राम्रो लागेमा हाम्रो च्यानललाई लाइक, सब्स्क्राइब र फलो गर्नुहोला ।
सबैभन्दा पहिला वैदेशिक रोजगारीको वास्तविकता बारे चर्चा गरौं –
हरेक वर्ष लाखौं नेपाली रोजगारीका लागि विदेसिन्छन् । खाडी मुलुकदेखि मलेसिया, कोरिया र युरोपसम्म नेपाली श्रमिकको बाक्लो उपस्थिति छ । विदेशमा श्रम गर्न युवाहरु रहरले भन्दा पनि बाध्यताले पुगेका हुन् । देशभित्र राम्रो रोजगारीको अवसर नहुँदा धेरै युवा विदेसिनुपर्ने बाध्यता छ ।
वैदेशिक रोजगार विभागका अनुसार २०८१ साउनदेखि २०८२ असारसम्ममा करिब साढे ८ लाख युवा रोजगारीका लागि बिदेसिएका छन् । हालसम्म ४० लाखभन्दा बढी नेपाली रोजगारीका लागि विदेसिएको अनुमान छ । तर युवालाई विदेश पठाउने कार्यको जिम्मेवारी लिएको मुख्य निकाय वैदेशिक रोजगार विभागसँगै विदेशमा रहेका युवाको एक्ज्याक्ट तथ्यांक छैन । श्रमका लागि मात्र होइन, अध्ययनका लागि विदेश जाने युवाको हरहिसाब पनि सरकारसँग छैन । विदेश पढ्न जानेहरु पनि कुनै न कुनै रुपमा विदेशमा श्रम गरिरहेकै हुन्छन् ।
नेपालमा अन्य व्यवसायभन्दा विदेश पठाउने व्यवसाय बढी फस्टाएको छ । काठमाडौंको मुटु मानिने ठाउँहरु कन्सल्टेन्सी र म्यानपावर कम्पनीहरुले भरिएका छन् ।
युवा बिदेसिँदा फाइदा के छ ?
युवा विदेश जाँदा सबैभन्दा ठूलो फाइदा सरकारलाई नै भएको छ । युवाले विदेशमा काम गरेर विदेशी मुद्रा पठाउँछन् । त्यो मुद्राले विदेशबाट वस्तु आयात गरी नेपालमा उपभोग गर्न सजिलो बनाइदिएको छ । सरकारलाई विदेशी मुद्रा सञ्चिति बलियो छ भनेर तथ्यांक प्रस्तुत गर्न गज्जब भएको छ ।
त्यसपछि विदेशमा काम गर्ने युवाका घरपरिवारले पनि फाइदा लिएका छन् । विदेशमा काम गर्न जानेले पाउने दुःख एउटा पाटो हो । एकछिन त्यो कुरालाई बिर्सने हो भने उनीहरुले पठाएको पैसाले यहाँ तिनका घरपरिवारको जीवनस्तर निकै सुधारिएको छ । शिक्षा र स्वास्थ्यमा पहुँच बढेको छ । गरिबीबाट माथि उठ्न सघाउ पुगेको छ । त्यसैले धेरै परिवारका लागि बिदेसिएको छोरा वा छोरी नै बलियो आर्थिक आधार बनेका छन् ।
यति हुँदाहुँदै बिर्सनै नहुने एउटा भावनात्मक पाटो पनि छ ।
केन्द्रीय तथ्यांक विभागको तथ्यांक केलाउने हो भने अधिकांश घरपरिवारबाट कम्तीमा एक जना सदस्य विदेशमा छन् । जसबाट परिवार टुटेको छ, अभिभावक एक्लिएका छन्, बालबालिकाहरु आमाबुबाको साथबिनै हुर्किरहेका छन् ।
यहाँ राज्यले बुझ्नुपर्ने कुरा के छ भने विदेसिएको युवा केवल श्रमिक होइन, विदेशी मुद्राको आधार मात्र होइन, ऊ एउटा छोरा, छोरी, पति वा पत्नी पनि हो । जसले समाजलाई अगाडि बढाउन ठुलो योगदान दिन सक्छ ।
विदेशमा काम गर्नेले पैसा पठाउँदा देशले विदेशी मुद्रा पायो र घरपरिवारले उपभोग गर्नका लागि खर्च पायो ।
त्यसो भए घाटा कहाँ छ त ?
युवाहरू देशको सक्रिय जनशक्ति हुन् । तर जब अदक्ष, दक्ष र सक्षम युवा सबै विदेशिन्छन्, देशभित्र श्रमशक्ति घट्छ । कृषि र उद्योग क्षेत्रमा कामदारको अभाव हुन्छ । यसबाट उत्पादनशील क्षेत्रहरु क्रमश: प्रभावित हुन्छन् । सक्षम युवा पलायनको अवस्थालाई ‘ब्रेन ड्रेन’ भनिन्छ, जहाँ देशले आफ्नो प्रतिभा गुमाउँछ । नेपालभित्र एक त कामै नपाउने, पाउँदा पनि निकै कम पारिश्रमिक पाउने समस्या छ । जसले गर्दा पनि युवाहरु विदेशिन बाध्य छन् ।
नेपालमा रोजगारी र अध्ययनका लागि विदेश जाने लहड नै चलेको छ । जसले एउटा कन्स्पेरेसी थ्यौरी सिर्जना भएको छ कि प्रगति गर्नका लागि विदेश नै पुग्नुपर्छ ।
यही कारण देशको अर्थतन्त्र रेमिट्यान्सले धानिएको छ । अर्कोतर्फ यही समयमा देशभित्र उत्पादन र रोजगारी घटिरहेको छ । काम गर्ने र उपभोग गर्ने जनशक्ति नै नभएपछि उपभोग्य वस्तु उत्पादन हुन छाडेको छ । सजिलोका लागि आयात हुने गरेको छ । उद्योगीहरु पनि उत्पादन छाडेर व्यापारतिर लागेका छन् ।
दीर्घकालीन असर के हुन्छ ?
वैदेशिक रोजगार र शिक्षाका यही अवस्था जारी रह्यो भने दीर्घकालमा यसको असर गम्भीर हुनेछ ।
देश अहिले नै रेमिट्यान्समा अत्यधिक निर्भर भइसकेको छ । आन्तरिक उद्योग विकास हुनै छाडिसकेका छन् । युवाहरु स्थायी रुपमा विदेशमै बस्ने प्रवृत्ति बढेको छ । यसबाट दीर्घकालमा जनसांख्यिक असन्तुलन देखिन सक्छ ।
यही अवस्था जारी रह्यो भने नेपाल ‘काम गर्ने मानिसको देश’ होइन, ‘पैसा पठाउने मानिसको देश’ मात्रै बन्नेछ ।
त्यसो भए अब के यसको समाधान छैन ?
पक्कै छ । यसका लागि सरकार नै अगाडि सर्नुपर्छ । समाजको मानसिकता बदल्नुपर्छ । देशभित्रै जीवन सहज हुने गरी उच्च आम्दानीसहितको रोजगारीको अवसर हुनुपर्छ । हालको रेमिट्यान्सलाई उत्पादनशील क्षेत्रमा लगानी गर्ने योजना ल्याउनुपर्छ । विदेशमा रहेका युवाको सीप, क्षमता र अनुभव पहिचान गरी देशमै अवसर सिर्जना गर्नुपर्छ । त्यसपछि मात्रै विदेश गएका युवा देश फर्किन सक्छन् र देशमा भएकालाई विदेश जानुपर्ने बाध्यता हट्नेछ ।
युवा विदेशिनु पूर्णरूपमा राम्रो पनि होइन र पूर्ण रूपमा नराम्रो पनि होइन । यो अवसर हो र चुनौती पनि ।
तर प्रश्न अझै छ– के नेपालले आफ्ना युवालाई केवल कमाउने स्रोतको रूपमा मात्रै हेरेको हो ? कि देश निर्माणको आधारको रूपमा ? देश निर्माणको आधारको रुपमा हो भने किन देशभित्रै रोजगारीका अवसर सिर्जना हुँदैन । यही प्रश्नको जवाफमा नै नेपालको भविष्य निर्भर छ ।
Copyright © Nepal Profit - 2026 / Developed By Webtech Nepal