झापा । आन्तरिक राजस्व कार्यालयले चालु आर्थिक वर्षको १० महिनामा दुई अर्ब ३८ करोड २३ लाख ७५ हजार राजस्व संकलन गरेको छ ।
कार्यालयका प्रमुख कर अधिकृत कृष्णचन्द काफ्लेका अनुसार चालु आवको साउनदेखि वैशाख मसान्तसम्ममा एक अर्ब २१ करोड ११ लाख ८० हजार आयकरबापत, ३१ करोड ९७ लाख ६४ हजार अन्तःशुल्कबापत र मूल्य अभिवृद्धि करबापत ८४ करोड ७६ लाख ४० हजार राजस्व संकलन भएको हो ।
कार्यालयले निर्धारण गरेको लक्ष्यभन्दा ५१ करोड २३ लाख ५७ हजार कम राजस्व संकलन भएको छ । उद्योग व्यापारमा आएको मन्दीका कारण लक्ष्यअनुसार राजस्व संकलन हुन नसकेको कार्यालयका प्रमुख काफ्लेले बताए ।
झापामा ठूला करदाता मित्तल, मनसा र सनराइज सिमेन्ट उद्योग कोरोना महामारीपछि बन्द छन् भने व्यापारिक कारोबार सुस्त हुँदा राजस्व संकलनको लक्ष्य प्रभावित भएको उनले जनाए ।