कास्की । गण्डकी प्रदेशको स्वास्थ्य मन्त्रालयको अनुदान सहयोगमा अपांगता भएका, मिर्गौलापीडित बिरामीका परिवारलगायत सात हजार ६१ जनाको निःशुल्क स्वास्थ्य बिमा गरिएको छ । जसमा अपांगता भएकाका परिवार पाँच हजार ९४६, मिर्गौलापीडित बिरामीका परिवार ४३१ र द्वन्द्वपीडित ३८२ रहेका छन् ।
त्यसैगरी जनआन्दोलनका घाइते २८, सहिद तथा बेपत्ता परिवारका ६३ र कास्कीमा क्रियाशील २११ जना पत्रकारको स्वास्थ्य बिमा गरिएको स्वास्थ्य बिमा बोर्ड गण्डकी प्रदेश कार्यालयका संयोजक जीवलाल खरेलले जानकारी दिए । ‘प्रदेशको स्वास्थ्य मन्त्रालयको अनुदान सहयोगमा आर्थिक वर्ष २०८१/८२ मा सात हजार ६१ जनाको स्वास्थ्य बिमा भएको हो,’ उनले भने, ‘अपाङ्गता भएका नागरिकलगायतले निःशुल्क स्वास्थ्य बीमाको सुविधा पाइरहनुभएको छ ।’
गण्डकी प्रदेशका एक लाख ६१ हजार ९३५ ज्येष्ठ नागरिक, दुई हजार ३११ एचआइभी संक्रमितको परिवार, अतिअशक्त अपांगता भएका पाँच हजार ६३० परिवार, कुष्ठरोग संक्रमितका ९० परिवार, क्षयरोग संक्रमितका ५७ परिवार र चार हजार ६४२ महिला स्वास्थ्य स्वयंसेविकाका परिवार स्वास्थ्य बीमामा आबद्ध छन् ।
प्रदेशमा हालसम्म चार लाख ४४ हजार ७७६ परिवार स्वास्थ्य बिमा कार्यक्रममा आबद्ध भएको संयोजक खरेलले बताए । जुन प्रदेशको कुल परिवार संख्यामध्ये ६७.०१ प्रतिशत हो । गण्डकीमा १३ लाख ५६ हजार ६९८ जनाको स्वास्थ्य बीमा गरिएको हो । जनसंख्याका आधारमा कुल बिमित ५५ प्रतिशत पुगेको जनाइएको छ ।
कुल बिमितमध्ये सेवा लिनेको संख्या सात लाख ३८ हजार २३२ अर्थात् ५४.०४ प्रतिशत रहेको छ । बिमा नवीकरण गर्ने परिवारको संख्या तीन लाख ३५ हजार ५०५ रहेको छ । ७५ प्रतिशत परिवारले बीमा नवीकरण गरेको पाइएको छ । स्वास्थ्य बिमाका लागि प्रदेशभर ७२५ जना दर्ता सहयोगी सक्रिय रहेको संयोजक खरेलले बताए ।
प्रदेशका ४७ स्थानीय तहमा स्वास्थ्य बिमासँग सूचीकृत भएका सेवा प्रदायक-अस्पतालहरू रहेका छन् । सरकारी ५६, निजी चार र सामुदायिक एक गरी ६१ वटा सेवा प्रदायक संस्थाहरू सूचीकृत छन् । सत्तरी वर्ष नाघेका ज्येष्ठ नागरिक, गम्भीर प्रकृतिका दीर्घरोगी, अतिअशक्त र गरिब परिचयपत्र पाएका परिवारको निःशुल्क स्वास्थ्य बlमा गर्ने गरिएको छ ।
पाँच जनासम्मको परिवारले वार्षिक तीन हजार ५०० को बीमा गरेबापत एक लाखसम्मको उपचार सेवा पाउँछन् । पाँच जनाभन्दा बढीको परिवार भएमा प्रतिसदस्य ७०० थप्नुपर्ने प्रावधान छ ।
ठूलो परिवारले दुई लाखसम्मको उपचार सेवा पाउने जनाइएको छ । बोर्डले तोकेका एक हजार २८८ प्रकारका औषधि, शल्यक्रियासहित जटिल रोगको उपचार पनि बिमाबाट हुने गरेको संयोजक खरेलले बताए ।