
काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा संघीय मामिला एवं सामान्य प्रशासन मन्त्रालयले अध्ययन बिदा तथा असाधारण बिदामा रहेका केही निजामती कर्मचारीहरू बिदा अवधि समाप्त भएपछि पनि नियमित रूपमा कार्यालयमा हाजिर नभएको तथा लामो समयदेखि सम्पर्कविहीन रहेको भन्दै अभिलेख अद्यावधिक गर्न सूचना जारी गरेको छ ।
मन्त्रालयका अनुसार अध्ययन बिदा र असाधारण बिदासम्बन्धी विवरण राष्ट्रिय किताबखाना (निजामती) मा अद्यावधिक नभएको सम्बन्धमा जानकारी तथा गुनासा प्राप्त भएपछि उक्त सूचना जारी गरिएको हो। साथै, केही कर्मचारीहरूको व्यक्तिगत विवरण (PIS) समेत अद्यावधिक नभएको पाइएको मन्त्रालयले जनाएको छ ।
प्रकाशित सूचनाअनुसार अध्ययन बिदा तथा असाधारण बिदामा रहेका र सम्बन्धित अभिलेख अद्यावधिक नभएका कर्मचारीहरूले सूचना प्रकाशित भएको मितिले तीन दिनभित्र राष्ट्रिय किताबखाना (निजामती) मा आफ्नो विवरण अनिवार्य रूपमा अद्यावधिक गराउनुपर्नेछ ।
यस्तै, मन्त्रालयले सबै मन्त्रालय, आयोग, सचिवालय तथा केन्द्रीयस्तरका कार्यालयहरूलाई आफ्नो निकायबाट विभिन्न समयमा अध्ययन बिदा वा असाधारण बिदा स्वीकृत भएका कर्मचारीहरूको विवरण यकिन गर्न निर्देशन दिएको छ। बिदा अवधि समाप्तिपछि कर्मचारी हाजिर भए वा नभएको अवस्था तथा अन्य आवश्यक विवरण राष्ट्रिय किताबखाना (निजामती) सँग समन्वय गरी तीन दिनभित्र अभिलेख अद्यावधिक गर्न पनि आग्रह गरिएको छ ।
मन्त्रालयले अध्ययन तथा असाधारण बिदा सकिएपछि पनि कार्यालयमा हाजिर नभएका वा लामो समयदेखि कार्यालयको सम्पर्कमा नरहेका कर्मचारीहरूको हकमा प्रचलित कानुनबमोजिम आवश्यक कारबाही प्रक्रिया अघि बढाइने जनाएको छ ।
निजामती सेवाको अभिलेख व्यवस्थापनलाई व्यवस्थित, पारदर्शी र उत्तरदायी बनाउने तथा कर्मचारीहरूको वास्तविक अवस्थाबारे अद्यावधिक विवरण सुनिश्चित गर्ने उद्देश्यले सूचना जारी गरिएको मन्त्रालयको भनाइ छ ।
Copyright © Nepal Profit - 2026 / Developed By Webtech Nepal