• Menu

आगलागी र वन डढेलोबाट वैशाखमा मात्रै २६ जनाको मृत्यु

नेपाल प्रफिट

२०८१ वैशाख ३१, १६:३८

आगलागी र वन डढेलोबाट वैशाखमा मात्रै २६ जनाको मृत्यु
सांकेतिक तस्बिर

काठमाडौं । वैशाखमा अधिकतम् तापक्रममा वृद्धि भएसँगै मुलुकभर भएका आगलागी र वन डढेलोका घटनाबाट धेरै जनधनको क्षति भएको छ । वैशाखमा डढेलो तथा आगलागीका घटनामा परी देशभर २६ जनाको मृत्यु भएको छ ।

लामो समय सुक्खा खडेरी हुँदा वैशाखमा मात्र देशभर आगलागीका ८६१ र डढेलोका ५७३ घटना भएको राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । आगलागीका घटनामा परी २० जनाको मृत्यु भएको छ भने ७३ जना घाइते भएका छन् ।

त्यस्तै डढेलोका घटनामा परी ६ जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएको प्राधिकरणका प्रवक्ता डिजन भट्टराईले जानकारी दिए । आगलागीबाट एक हजार ३६४ र डढेलोबाट ४०७ घरपरिवार प्रभावित भएका छन् ।

वैशाखमा चट्याङबाट आठ, लेक लागेर दुई तथा बाढी र जनावरको आक्रमणबाट एक–एक जनाको मृत्यु भएको छ । वन तथा भू–संरक्षण विभागले दिएको जानकारीअनुसार वैशाखमा मात्र यति धेरै डढेलोका घटना भएको सम्भवतः पहिलो पटक हो । नेपालमा खासगरी माघदेखि जेठसम्म बढी आगलागी र डढेलो लाग्ने गरेको छ ।

नेपालमा विशेष गरी तराई र भित्री मधेसका जिल्लामा वन डढेलो बढी लाग्ने गरेको विभागको वन डढेलो सूचना कक्षका वन अधिकृत गोविन्दकुमार श्रेष्ठले जानकारी दिए । यस वर्ष हिउँदे वर्षा न्यून भएका कारण पनि वन डढेलो धेरै देखिएको हो ।

डढेलोका कारणमध्ये स्थानीयले घाँसको मुना पलाउने आशमा जानाजानी आगो लगाउने गरेका छन् । डढेलो वन व्यवस्थापनको राम्रो औजार भए पनि त्यो नियन्त्रित हुनुपर्ने वन क्षेत्रको जानकारको भनाइ छ ।

वनजंगलमा मानिस वनभोज जाने र आगो त्यतिकै छोड्दा हुने आगलागी, बिँडी, चुरोटका ठूटाबाट समेत वन डढेलो लाग्ने गरेको उनले बताए ।

कतिपय संरक्षित क्षेत्रमा स्थानीयले प्रवेश गर्न नपाएको र स्रोतको प्रयोग गर्न नपाएको आवेगमा समेत आगो लगाउने गरेको देखिएको छ । जलवायु परिवर्तन र वन डढेलो बीचको दुश्चक्रीय अन्तरसम्बन्धले समस्या जटिल बन्नुका साथै डढेलोका घटनासमेत वृद्धि भएको पाइएको छ ।