• Menu

साउनदेखि चैतसम्मको ९ महिनामा तनहुँमा ६४७ उद्योग दर्ता

नेपाल प्रफिट

२०८१ वैशाख २८, शुक्रबार ०८:५७

साउनदेखि चैतसम्मको ९ महिनामा तनहुँमा ६४७ उद्योग दर्ता

तनहुँ । चालु आर्थिक वर्षको ९ महिनामा तनहुँमा ६४७ उद्योग दर्ता भएका छन् । पर्यटन तथा उद्योग कार्यालयमा साउनदेखि चैत मसान्तसम्म ती उद्योग दर्ता भएका हुन् ।

कार्यालयका अनुसार उद्योगतर्फ ३३६ र वाणिज्यतर्फ ३११ उद्योग दर्ता भएका छन् । एउटा घरबास (होमस्टे) पनि दर्ता भएको छ । गत आवभरमा जिल्लामा ६०३ उद्योग दर्ता भएका थिए । दर्ता भएका उद्योगमध्ये कृषि तथा वन पैदावरतर्फ अधिक छन् ।

दुई सय ७८ उद्योग खारेज

चालु आवमा जिल्लामा २७८ उद्योग खारेज भएका छन् । आर्थिक अभावका कारण उद्योग सञ्चालन गर्न नसकिने भन्दै सम्बद्ध व्यक्तिले आवेदन गरेपछि ती उद्योगको दर्ता खारेज गरिएको हो ।

कार्यालयमा गत आवमा २१० घरेलु उद्योग खारेजीका लागि आवेदन परेको थियो । गत आवको तुलनामा चालु आवमा उद्योग खारेजका लागि धेरै आवेदन परेको उक्त कार्यालयले जनाएको छ ।

चालु आवमा कार्यालयले ४० लाख ४९ हजार १२५ रुपैयाँ राजस्व संकलन गरेको छ । वाणिज्यतर्फ १९ लाख ८५ हजार १७५ र उद्योगतर्फ २० लाख ६३ हजार ९५० रुपैयाँ राजस्व संकलन भएको  छ । उद्योगतर्फका ८४० र वाणिज्यतर्फ ७४१ गरी एक हजार ५८१ घरेलु तथा साना उद्योगले नवीकरण गरेका छन् ।