काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले डढेलो लगाउनेको खोजी गरी तत्काल कारबाही गर्न निर्देशन दिएका छन् । गृह मन्त्रालयमा आइतबार भएको डढेलो र आगलागीसम्बन्धी आपतकालीन छलफलमा आगलागीका ९० प्रतिशत घटना मानवीय कारणले हुने भएकाले आगो लगाउनेलाई कानुनअनुसार कारबाही गर्न निर्देशन दिएका हुन् ।
‘केही मान्छेका कारण आगलागीले वन र बस्ती सखाप भइरहेको छ, आगलागीले विपद्कै रुप लिइसक्यो तर आगो लगाउनेको अक्सर पहिचान हुँदैन, पहिचान भएका पनि कानुन मातहत आएका छैनन् होला,’ उनले भने, ‘वनमा आगो लगाउनु अपराध हो, अपराध गर्नेलाई कानुनअनुसार कारबाही हुनुपर्छ, त्यसतर्फ गम्भीर र सक्रिय भएर लाग्नुहोला ।’
आगो लगाउनेलाई कारबाही र आगो लगाउनेको सूचना दिनेलाई पुरस्कृत गर्नुपर्ने मन्त्री लामिछानेले बताए । उनले आगो लगाउने व्यक्तिबारे सूचना भए स्थानीय सरकार, जनप्रतिनिधि, स्थानीय प्रशासन, नजिकको प्रहरी कार्यालयलाई जानकारी दिन अनुरोध पनि गरे ।
विपद् नै पिच्छे स्रोत–साधनको अभाव देखाएर गर्न सकिने सामान्य काम पनि नगर्ने प्रवृत्ति रहेको तर्फ संकेत गर्दै मन्त्री लामिछानेले नागरिकको ज्यान बचाउन राज्यले स्रोत–साधनको अभाव देखाउन नहुने स्पष्ट गरे ।
स्रोत–साधन अपुग रहे पनि भएकाको उच्चतम् सदुपयोग गर्न, कार्ययोजना बनाएर अगाडि बढ्न, जोखिमयुक्त क्षेत्र पहिचान गरी पूर्वतयारी गर्न निर्देशन पनि दिए ।
नीति, कानुन र व्यावहारिक कठिनाइ भए फुकाउन आफूले नेतृत्व लिने भन्दै मन्त्री लामिछानेले डढेलोलगायतका विपद् व्यवस्थापनमा स्थानीय सरकारलाई पनि स्रोत–साधन सम्पन्न बनाउनुपर्ने बताए ।
छलफलमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलले १० बुँदे कार्ययोजना प्रस्तुत गर्दै ‘एकीकृत कमान्ड सेन्टर’ स्थापना आवश्यक रहेको औंल्याए ।
दुई महिनायता आगलागीका घटनामा परी ५० जनाको ज्यान गएको, १४० जना घाइते भएको र एक हजारभन्दा बढी घर पूर्णरुपमा नष्ट भएको प्राधिकरणले जनाएको छ ।
वैशाख २१ गते बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको २२औं बैठकले पारित गरेको ‘विपद्बाट प्रभावित घरपरिवारलाई अस्थायी आवास निर्माण अनुदान कार्यविधि–२०८१’ अनुसार आगलागी पीडितले पनि अस्थायी आवास निर्माणका लागि दुई किस्तामा गरी ५० हजार रुपैयाँ अनुदान पाउनेछन् ।