काठमाडौं । प्रभु बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा सुमन शर्मा नियुक्त भएका छन् । बैंक सञ्चालक समितिको मंगलबार बसेको बैठकले शर्मालाई चार वर्षका लागि सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो ।
शर्मासँग बैंकिङ क्षेत्रमा २५ वर्ष लामो काम गरेको अनुभव छ । उनी कुशल बैंकरको रुपमा चिनिन्छन् । उनले माछापुच्छ्रे बैंक र सनराइज बैंकको सीईओकोको जिम्मेवारी निर्वाह गरिसकेका छन् । उनले ग्लोबल आइएमई, एनएमबी बैंक र नेपाल एसबीआई बैंकमा पनि काम गरेका छन् । सन् १९९७ मा एसबीआई बैंकबाट उनले करियर सुरु गरेका थिए ।
अशोक शेरचनले बैंकको सीईओबाट आइतबार राजीनामा दिएका थिए । सञ्चालक समितिले शेरचनको नियुक्ति स्वीकृत गर्दै शर्मालाई नियुक्त गरेको हो । शर्माले त्रिभुवन विश्वविद्यालयबाट अर्थशास्त्र तथा भौतिकशास्त्रमा स्नातकोत्तर गरेका छन् ।
सात वर्ष एसबीआई बैंकमा काम गरेपछि सन् २००५ मा नेदरल्यान्ड्सको मास्ट्रिक्ट स्कुल अफ म्यानेजमेन्टबाट एमबीए हासिल गरेका उनी अर्थशास्त्र र एमबीए इन फाइनान्समा स्वर्ण पदक विजेता हुन् ।