• Menu

संसदबाट नभ्याए अध्यादेशबाटै १२ वटा कानुन संशोधन गर्ने सरकारको तयारी

नेपाल प्रफिट

२०८० चैत २४, शनिबार १९:३६

संसदबाट नभ्याए अध्यादेशबाटै १२ वटा कानुन संशोधन गर्ने सरकारको तयारी

वीरगन्ज । अर्थमन्त्री वर्षमान पुनले लगानी सम्मेलनका लागि सरकारले अध्यादेशबाट भए पनि ऐन संशोधन गर्ने बताएका छन् ।

कान्तिपुर मिडिया ग्रुपले शनिबार वीरगन्जमा आयोजना गरेको ‘वीरगन्जको वैभव’ अन्तर्गत ‘अर्थमन्त्रीलाई प्रश्नैप्रश्न’ शीर्षकको कार्यक्रममा उनले कुनै हालतमा छिट्टै कानुन संशोधन गरिने बताएका हुन् ।

‘भरसक संसदबाटै र समय अभावले नभ्याइने भए अध्यादेशबाट भए पनि लगानी संकुचन गर्ने ठानिएका दर्जन कानुन संशोधन गर्ने तयारीमा सरकार छ,’ उनले भने, ‘त्यसका लागि राजनीतिक दलहरुबीच राष्ट्रिय सहमति कायम गरिनेछ ।’

लगानी सम्मेलनमार्फत लगानी आउने वातावरण बनाउन सरकारले सबै खालका व्यवधान हटाउने उनले स्पष्ट पारे । तेस्रो लगानी सम्मेलन वैशाख १६ र १७ मा हुँदै छ ।

आन्तरिक लगानीका लागि पनि सरकारले व्यवसायीलाई प्रोत्साहन गर्ने मन्त्री पुनले बताए । ‘निराशालाई आशामा बदल्ने प्रतिबद्धतासहित विश्वासको वातावरण निर्माण गर्न सकिन्छ भन्ने सोचका साथ म १२ वर्षपछि मन्त्रालयमा आएको हुँ,’ उनले भने ।

विदेशी मुद्राको सञ्चिति बढेको, महँगी घटेको र विप्रेषण आप्रवाह बढेकाले अर्थतन्त्रको बाह्य अवस्था सुदृढ भएको उनले बताए । ‘म जिम्मेवारीमा आएपछि ७० अर्ब बजारमा पठाइसको छु,’ उनले भने, ‘निर्माण व्यवसायीको भुक्तानी दिन सुरु भइसकेकाले बजार चलायमान हुने विश्वास छ ।’

फरक प्रसंगमा अर्थमन्त्री पुनले निजी क्षेत्र र बजारलाई आतंकित गर्ने नीति सरकारको नरहेको स्पष्ट गरे ।