गोरखा । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा जनताले परिवर्तन एवं विकासको महसुस गर्ने बताएका छन् ।
नेकपा माओवादी केन्द्र जिल्ला पार्टीले शुक्रबार गोरखामा आयोजना गरेको कार्यकर्ता भेटघाट एवं प्रशिक्षण कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले आगामी आर्थिक वर्षमा विकास र निर्माणका क्षेत्रमा प्रभावकारी आयोजना लिएर आउने बताए ।
‘आगामी वर्षको बजेट विगतको जस्तो हुँदैन,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘अध्यादेशमार्फत ऐन संशोधन गरेर जनताको सुझावलाई समेटेर नीति तथा कार्यक्रम निर्माण भइरहेको छ ।’
परिणाम दिने आयोजनालाई मात्र बजेटको व्यवस्था गरिने उनले स्पष्ट पारे । ‘गोरखाको जनप्रतिनिधिको हैसियतले सडक पूर्वाधारमा मेरो ध्यान जानेछ,’ उनले भने, ‘जलविद्युत, जडीबुटी र एवं अन्य पूर्वाधार क्षेत्रमा विशेष ध्यान दिनेछु, यसपटक जनताले बुझ्नेगरी बजेट विनियोजन हुनेछ ।’
अहिले देशभर सुशासन एवं सामाजिक न्यायका पक्षमा महत्त्वपूर्ण काम भएको उनले दाबी गरे । ‘शरणार्थी काण्डदेखि वाइडबडी प्रकरणसम्म आइपुग्दा भ्रष्टाचार गर्ने कोही पनि छुट्ने छैनन् भन्ने स्पष्ट भएको छ,’ उनले भने ।
माओवादीले मात्र सामाजिक न्यायको क्षेत्रमा लाखौं मिटरब्याजबाट पीडितलाई न्याय दिएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले यही सरकारले मात्र विदेशमा रहेका श्रमिक एवं देशभित्रका न्यून आय भएका श्रमिकलाई सामाजिक सुरक्षामा सामावेश गराएको बताए ।
‘चालु आवका लागि बजेट र नीति तथा कार्यक्रममा जनताको चाहनाअनुसार निर्माण गर्न सकिएन,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘चालु आवमा परम्परागत बजेट निर्माण भयो र त्यसले अपेक्षित उपलब्धि हासिल गर्न सकिएन ।’