• Menu

कांग्रेस महामन्त्री शर्माको प्रश्न- डेढ वर्षमा तीनपटक विश्वासको मत लिनुपर्ने अवस्था किन आयो ?

नेपाल प्रफिट

२०८० फागुन ३०, बुधबार १३:४४

कांग्रेस महामन्त्री शर्माको प्रश्न- डेढ वर्षमा तीनपटक विश्वासको मत लिनुपर्ने अवस्था किन आयो ?

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले जनताका प्रतिनिधिको सर्वोच्च थलो सदनमा सधैँ सत्ता र विपक्षका राजनीतिक कुरामात्र होइन, जनताका दैनिक सवालका विषयले पनि प्राथमिकता पाउनुपर्ने बताएका छन् ।

प्रतिनिधिसभामा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेस गरेको विश्वासको मतसम्बन्धी प्रस्तावमाथिको दलीय छलफलका क्रममा उनले एक प्रधानमन्त्रीले १५ महिनामा तीनपटक विश्वासको मत लिनुपर्ने विषयमाथि सदनमा छलफल गर्नु दुखद् भएको बताए ।

‘आज सदनमा पुँजीगत बजेट खर्च हुन नसकेको, शान्ति प्रक्रियाका बाँकी काम टुङ्ग्याउने विषय, संघीयता बलियो बनाउने, शिक्षा स्वास्थ्य सुधारका विषय, इजरायलमा हमासको आक्रमणका बेला अज्ञात रहेका नेपाली विद्यार्थी विपिन जोशीको रिहाइ, रुस–युक्रेन युद्धमा रुसी सेनामा लडिरहेका र मरिरहेका नेपाली नागरिकका विषयमा छलफल हुनुपर्ने होइन ?’ महामन्त्री शर्माले प्रश्न गरे ।

कांग्रेसले विभिन्न कालखण्डमा कहिले दुई तिहाइ, कहिले बहुमत प्राप्त गरी कहिले सत्तामा र कहिले प्रतिपक्षमा रहेर मुलुक र जनताका लागि ऐतिहासिक काम गरेको उनको तर्क छ ।

‘कांग्रेस आफ्नो प्रतिवेदन देशलाई र समयलाई बुझेर लेख्छ, कम्युनिस्ट पार्टीको अध्यक्षलाई सोधेर लेख्दैन, हिजोको दिनमा राजतन्त्र र हिन्दू धर्मको विचार बोक्ने राष्ट्रिय प्रजातन्त्र पार्टीसँग गठबन्धन गर्दा प्रधानमन्त्री दाहाललाई आपत्ति नहुने तर कांग्रेसको महासमिति बैठकमा आएका विविध विषयले आपत्ति हुने ? यो कस्तो विश्लेषण हो,’ उनले भने ।

महामन्त्री शर्माले लुम्बिनीमा हुन गइरहेको शान्ति सम्मेलन नेपाल सरकारले स्थगित गर्दा अन्तर्राष्ट्रिय रुपमा नकारात्मक सन्देश गएको बताए । उनले विश्वासको मत नलिईकन प्रदेश प्रमुख बर्खास्त गर्दा अस्थिरताको सन्देश गएको तर्क गरे ।

महामन्त्री शर्माले राजनीतिक नेतृत्वले आलोचना सुन्नसक्ने र विश्वासको वातावारण बनाउन सक्नुपर्ने धारणा राखे । उनले जनमतको विश्वासमाथि विश्वासघात भएकाले कांग्रेसले विश्वास मत दिन नसक्ने बताए ।