काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले गृह मन्त्रालयलाई पुरातन शैलीमा काम गर्ने छुट नभएको बताएका छन् ।
मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठक तथा अर्धवार्षिक समीक्षा कार्यक्रममा उनले पद सुरक्षित हुँदाहुँदै पनि प्रधानमन्त्रीले सत्ता साझेदार दल परिवर्तन गर्नुको मूल कारण ‘डेलिभरी’ दिनका लागि भएको उनले बताए ।
‘सुशासन कायम गर्न र सेवा प्रवाह सहज बनाउन गृह मन्त्रालय प्रत्यक्ष जोडिने भएकाले पुरातन शैलीमा काम गर्ने छुट हामीलाई छैन,’ उनले भने ।
गृहमन्त्री लामिछानेले आफू पनि विशेष टीओआर लिएर आएको बताए । ‘यहाँहरुसँग त परिभाषित जिम्मेवारी छँदै छ,’ गृह मन्त्रालय एवं प्रहरीका उच्च अधिकारीलाई उनले भने, ‘त्यसैले आपसी सहकार्यमा नागरिकले तत्काल महसुस हुने गरी सुधारका काम गरौं ।’
गृह मन्त्रालयसँग स्रोत–साधनको अभाव रहेको र प्रहरीका दुवै संगठनसँग आधारभूत वस्तुकै खाँचो रहेको उनले बताए । ‘सवारी साधन, हातहितयार, उपकरण र प्रविधिमा पनि लगानी गर्नुपर्नेछ, त्यसतर्फ पर्याप्त ध्यान दिइनेछ,’ उनले भने ।
नयाँ आर्थिक वर्षका लागि बजेट बन्ने प्रक्रिया सुरु भएकाले प्राथमिकता निर्धारणसहित तयारी गर्न पनि उनले सबैलाई आग्रह गरे । ‘बजेटको सिलिङ बढाउन होइन, रिभ्यु गर्नतर्फ लागौं,’ पर्याप्त स्रोत नभएकोतर्फ इंगित गर्दै उनले भने, ‘देशको ढुकुटी बलियो भएमात्र बजेट बढाउन सकिन्छ ।’
राजस्व संकलन र चुहावट नियन्त्रणमा गृह प्रशासनको महत्वपूर्ण भूमिका रहेको उनले बताए । ‘राजस्व बढाउन सक्यौं भने गृहको बजेट क्रमशः रिभ्यु हुन्छ नै, देशको ढुकुटी बलियो बनाउन सबैले इमान्दार प्रयास गरौं,’ गृहमन्त्री लामिछानेले भने ।
बैठकपछि मन्त्री लामिछानेले गृह मन्त्रालयका सचिव दिनेश भट्टराईलाई बिदाइ गरेका छन् । सचिव भट्टराईको सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा सरुवा भएको थियो ।