• Menu

प्रधानमन्त्रीले म र गृहमन्त्रीलाई सँगै राखेर व्यावसायिक वातावरण बनाउन निर्देशन दिनुभएको छ : अर्थमन्त्री

नेपाल प्रफिट

२०८० फागुन २९, १७:०९

प्रधानमन्त्रीले म र गृहमन्त्रीलाई सँगै राखेर व्यावसायिक वातावरण बनाउन निर्देशन दिनुभएको छ : अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले निजी क्षेत्रको गिरेको मनोबल उठाइने बताएका छन् । नेपाल उद्योग परिसंघको प्रतिनिधि मण्डलसँग मंगलबार सिंहदरबारस्थित मन्त्रालयमा भएको भेटमा उनले सरकार लगानीको सुरक्षा गर्न प्रतिबद्ध रहेकाले ढुक्क रहन उद्योगी व्यवसायीलाई आग्रह गरे ।

‘म मन्त्रालयको नेतृत्व सम्हालेकै दिनबाट सुरक्षित व्यावसायिक वातावरण बनाउन प्रयासरत छु,’ उनले भने । मन्त्री पुनले प्रधानन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू र उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई सँगै राखेर व्यावसायिक वातावरण बनाउन निर्देशन दिएको जानकारी पनि गराए ।

‘सम्माननीय प्रधानमन्त्रीज्यूले म र गृहमन्त्रीलाई सँगै राखेर उद्योगी व्यवसायीलाई राज्यका निकायहरुले तर्साउनु भएन भन्नुभएको छ,’ उनले भने, ‘हामी निजी क्षेत्रलाई अपिल गर्न चाहन्छौं कि अभिभावकीय भूमिकामा रहेको सरकारले कसैलाई आतंकित बनाउने काम गर्दैन ।’

आरोप लाग्दैमा नआत्तिन आग्रह गर्दै पुनले आरोप प्रमाणित हुने तथ्य नभएसम्म व्यवसायीलाई पक्राउ गरेर नथुन्ने वातावरण बनाइने विश्वास दिलाए । ‘आरोप लाग्दैमा कसैलाई पनि दोषी करार गर्न मिल्दैन,’ उनले भने, ‘गम्भीर अपराध गरेका बाहेकलाई सरकारले अनावश्यक हस्तक्षेप गर्दैन ।’

यद्यपि पुनले राजस्व छलीमा भने सरकारले कडाइ गर्ने बताए । तर, व्यवसायीसँगको समन्वयमै राजस्व छलीलाई नियन्त्रण गरिने भएकाले सहयोग गर्न निजी क्षेत्रलाई आग्रह गरे ।

‘अकस्मत होइन, जानकारी दिएरै राजस्व छलीमा कडाइ हुन्छ,’ उनले भने, ‘गैरकानुनी कामलाई राज्यले नियन्त्रण गर्दा व्यवसायीको पनि साथ चाहिन्छ ।’

उनले आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेट बनाउनुअघि व्यवसायीका जायज चासोबारे मन्त्रालयले छलफल गर्ने पनि उल्लेख गरे । कुनै पनि वस्तुमा कर लगाउँदा सरकारले त्यसको औचित्य पुष्टि हुने गरीमात्र काम गर्ने उनको स्पष्टोक्ति थियो ।

कुनै एक राजनीतिज्ञ, जाति, समुदाय, क्षेत्र, पेसा र व्यवसायमा संलग्न केही व्यक्तिले गल्ती गर्दैमा सबैलाई आरोपित गर्ने घातक प्रवृत्ति समाजमा व्याप्त बन्न खोजेको भन्दै उनले चिन्ता जनाए ।

फरक प्रसंगमा मन्त्री पुनले आगामी वैशाखमा हुने तेस्रो लगानी सम्मेलनमा सक्रिय सहभागिता जनाउन र विदेशी लगानीकर्तालाई नेपाल ल्याउने वातावरण बनाउने काममा सहयोग गर्न उद्योगी व्यवसायीलाई अपिल गरे ।