• Menu

धुर्कोटको ‘विचित्र गुफा’ हेर्न पुगे विदेशी पर्यटक

नेपाल प्रफिट

२०८० फागुन २९, १४:२९

धुर्कोटको ‘विचित्र गुफा’ हेर्न पुगे विदेशी पर्यटक

गुल्मी । धुर्कोट गाउँपालिकामा रहेको विचित्र गुफामा पहिलो पटक विदेशी पर्यटक पुगेका छन् । धार्मिक एवं ऐतिहासिक तथा पर्यटकीय क्षेत्रका रुपमा पहिलोपटक १७ फ्रान्सेली नागरिक गुफा हेर्न पुगेका हुन् ।

यति धेरै संख्यामा बाह्य पर्यटकको आगमन भएपछि गुफा समिति र गाउँपालिकाले टीका तथा माला लगाएर पर्यटकलाई स्वागत गरेको गाउँपालिकाका अध्यक्ष भुपाल पोख्रेलले बताए ।

पहिलो पटक गुफा पुगेकी ८२ वर्षीय फ्रान्सेली नागरिक मार्गट लिनदेन गुफा हेरेपछि निकै खुसी देखिन्थिन् । निकै सुन्दर र रमणीय ठाउँ भएको भन्दै उनले आफू स्वदेश फर्केपछि अरू साथीहरुलाई पनि यसको महत्व र सुन्दरताबारे जानकारी गराउने बताइन् ।

गुफाभित्र देखिएका दृश्य साह्रै आकर्षक र भिन्नभिन्न आकृतिले प्राकृतिक रुपमा सजिएको उनको भनाइ छ । गुफामा पुगेका पर्यटकले भजन गीतको तालसँगै नाचगान गरेर एकापसमा खुसी साटासाट गरेका छन् ।

गुल्मीको सदरमुकाम तम्घासदेखि पाँच कोष उत्तरमा धुर्कोट–५ अन्तर्गत वस्तुमा यो गुफा रहेको छ । २०४५ सालमा बारीमा मकै खान गएका बाँदरलाई लखेट्ने क्रममा स्थानीय जनार्दन भण्डारीले पहिलोपटक उक्त ठाउँमा गुफा रहेको पत्ता लगाएका थिए । लामो सयमदेखि विचित्र गुफा हेर्न आन्तरिक पर्यटकको भने घुइँचो लाग्ने गरेको छ ।

यसको प्रचारप्रसार स्वदेशमा मात्र नभई विदेशमा पनि हुन थालेपछि विदेशी पर्यटकको समेत आगमन हुन थालेको हो । विभिन्न समयमा एक–दुई जना काम विशेषले आएको समयमा फाटफुट रुपमा विदेशी नागरिक गुफा हेर्न आउने गरे पनि यसरी पर्यटककै रुपमा गुफा हेर्न यति धेरै फ्रान्सेली नागरिक पहिलो पटक आएको गाउँपालिका अध्यक्ष पोख्रेलले बताए ।

गाउँपालिकाको आग्रहमा अरविन्द्र आश्रममा योग साधनाका लागि आएका उनीहरु आश्रमका गुरु रामचन्द्र दासको नेतृत्वमा टोलीले गुफाको अवलोकन गरेको हो । गुफाको चौडाइ १८५ मिटर र लम्बाइ ३५० मिटर छ । यति लामो भूभागमा फैलिएको विचित्र गुफाको मुख्य द्वारबाट भित्र पसेपछि थप पाँच द्वारको प्राकृतिक आकार देख्न सकिन्छ ।

स्थानीयका अनुसार २०४५ साल असारमा गुफा पत्ता लागेको हो । गुफाबाहिरको प्राकृतिक सुन्दरता र हरियालीले गुफाको थप शोभा बढाएको छ । गुफाको भित्तामा देखिने धार्मिक महत्व बोकेका विभिन्न आकृतिका चित्रले थप आकर्षण बढाएको छ ।

गुफा क्षेत्रको विकासका लागि अहिलेसम्म गाउँपालिका, प्रदेश र संघबाट गरी दुई करोडभन्दा बढी रकम लगानी भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ज्ञानुराम पन्थीले जनाकारी दिए । उक्त गुफा सदरमुकाम तम्घासबाट १८ किलोमटरको दूरीमा पर्छ ।