काठमाडौं । नवगठित सत्तारुढ दलहरुको मंगलबारको बैठकले सात बुँदे सहमति गरेको छ । नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), जनता समाजवादी पार्टी (जसपा) नेपाल र नेकपा एकीकृत समाजवादीबीच सरकार सञ्चालन र आपसी सहयोगलगायतका विषयमा लिखित सहमति भएको हो ।
सत्तारुढ दलहरुबीच भएको सहमतिमा जनचाहनाअनुरूप सुशासन, विकास र सामाजिक न्यायका आकांक्षा पूरा गर्न राष्ट्रिय हित र सरोकारलाई प्राथमिकतामा राखिने उल्लेख छ ।
त्यसका लागि सन्तुलित र फराकिलो अन्तर्राष्ट्रिय सम्बन्ध विकास गर्न तथा नेपालको संविधानको मर्म र भावनाअनुरूप संघीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ गर्दै समृद्धिको दिशामा प्रभावकारी ढंगले अघि बढ्ने सहमति दलहरुबीच भएको छ ।
यस्ता छ सहमतिका बुँदा
१. राष्ट्रिय आवश्यकता र जनचाहनाअनुसार सरकारको कामलाई थप प्रभावकारी बनाउन तथा मुलुकको सुशासन, विकास, सामाजिक न्याय र समृद्धिका प्रश्नमा समान सोच राख्ने दलहरूका बीचमा सहकार्य आवश्यक रहेको महशुस गरी नेकपा एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी, नेपाल र नेकपा एकीकृत समाजवादीको सहभागितामा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वमा पुनर्गठित वर्तमान सरकारलाई सुदृढ र सफल पार्ने ।
२. राष्ट्रिय सभाको रिक्त रहेको अध्यक्ष पदमा माओवादी केन्द्रका उम्मेदवारलाई समर्थन गर्ने ।
३. नयाँ संयुक्त सरकार गठन प्रक्रियामा सकारात्मक अन्य दलहरूसँग संवाद अघि बढाउने ।
४. संक्रमणकालीन न्यायसम्बन्धी विधेयक, शान्ति प्रक्रिया र देशमा स्थायी शान्ति कायम गर्नका लागि यससँग सम्बन्धित अन्य विषयहरू सहमतिका आधारमा अविलम्ब टुंग्याउने ।
५. संघीयता कार्यान्वयनसँग सम्बन्धित बाँकी कानुन निर्माण गरी सबै तहका सरकारलाई प्रभावकारी बनाउने ।
६. देशका आर्थिक समस्याहरु सम्बोधन गर्दै राष्ट्रिय हित र लोकतन्त्रलाई सुदृढ बनाउन सरकारको नीति तथा कार्यक्रमलाई मार्गदर्शन गर्ने गरी सरकारमा सहभागी दलहरूका बीचमा साझा न्यूनतम कार्यक्रम तयार गर्ने ।
७. हामी पाँच राजनीतिक दल राष्ट्रिय स्वाधिनता, सार्वभौमसत्ता र भौगोलिक अखण्डतालाई सुदृढ गर्न तथा समाजवादउन्मुख आर्थिक-सामाजिक विकासका लागि राजनीतिक स्थायित्वको दिशामा अघि बढ्न सहमत भएका छौं ।
