• Menu

ओभरलोड बोकेर नेपालमा गुड्ने ट्रकका कारण क्षति नै क्षति, व्यवसायीको प्रश्न- कारबाही किन हुँदैन ?

नेपाल प्रफिट

२०८० फागुन २८, १७:५६

ओभरलोड बोकेर नेपालमा गुड्ने ट्रकका कारण क्षति नै क्षति, व्यवसायीको प्रश्न- कारबाही किन हुँदैन ?

दाङ । नियमविपरीत ओभरलोड बोकेर चल्ने भारतीय ट्रकलाई तत्काल रोक्न ट्रक यातायात व्यवसायीले सरकारसँग जोडदार माग गरेका छन् । ओभरलोड बोकेर नेपालमा निर्वाध चल्ने भारतीय ट्रकका कारण नेपाली ट्रक व्यवसायी धरापमा पर्दै गएको उनीहरुले बताएका छन् ।

राप्ती अञ्चल संयुक्त ट्रक यातयात व्यवसायी समितिको २१औं वार्षिक साधारण सभा तथा १४औँ अधिवेशनमा सरकारले यातायात व्यवसायीका समस्या सम्बोधन नगरेको गुनासो गरे ।

कार्यक्रममा नेपाल ट्रक यातायात व्यवसायी महासंघका अध्यक्ष हिरालाल श्रेष्ठले तीनै तहका सरकारले यस क्षेत्रका लागि कानुन बनाउन आवश्यक रहेको बताए । ‘यातायात व्यवसायीका माग सरकारले सम्बोधन नगरिरहेको अवस्थामा अब आफ्नो अधिकार सुनिश्चित गर्न व्यावसायिक एकता आवश्यक छ,’ उनले भने ।

नेपाल ट्रक यातायात व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष लोकराज पोख्रेलले भारतीय ट्रकका कारण नेपाली यातायात व्यवसायी आफ्नो पेसाबाट पलायन हुनुपरेको बताए ।

हजारौं मानिसलाई रोजगार दिएर राज्यलाई अग्रिम कर बुझाउँदै आएका ट्रक व्यवसायी संकटमा पर्दा पनि सरकार गम्भीर बन्न नसकेको उनीहरुको गुनासो छ ।