• Menu

विश्व बैंकका प्रतिनिधिलाई अर्थमन्त्रीले भने- नेपालको अर्थतन्त्र अझै दबाबमा छ, प्राथमिकतामा राखिदिनुस्

नेपाल प्रफिट

२०८० फागुन २८, १६:१७

विश्व बैंकका प्रतिनिधिलाई अर्थमन्त्रीले भने- नेपालको अर्थतन्त्र अझै दबाबमा छ, प्राथमिकतामा राखिदिनुस्

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले नेपालमा थप सहायता बढाउन विश्व बैंकलाई आग्रह गरेका छन् । विश्व बैंकका नेपाल, माल्दिभ्स र श्रीलंका हेर्ने कन्ट्री डाइरेक्टर फेरिस हदाद जेर्बोससँग सोमबार सिंहदरबारस्थित अर्थ मन्त्रालयमा भएको भेटमा मन्त्री पुनले अर्थतन्त्र अझै केही दबाबमा रहेकाले नेपाललाई प्राथमितामा राख्न आग्रह गरे ।

विश्व बैंक नेपालको ठूलोमध्येको विकास साझेदार भएकाले समन्वय र सहकार्यको अपेक्षा पनि उच्चस्तरकै रहेको उनको भनाइ छ । सरकारको खर्च बढाउने, रोजगारी सिर्जना र आर्थिक गतिविधिमा तीव्रता पैदा गरेर अर्थतन्त्र चलायमान बनाउने सरकारको नीति सफल बनाउन महत्वपूर्ण विकास साझेदारका हैसियतले विश्व बैंकको सहयोग जरुरी रहेको उले स्पष्ट पारे ।

‘कतिपय आन्तरिक र कतिपय बाह्य कारणले अर्थतन्त्र केही दबाबमा छ,’ पुनले भने, ‘यो चुनौतीपूर्ण अवस्थामा विश्व बैंकबाट थप सहयोगको अपेक्षा गरेको छु ।’ आफूसँग विगतमा अर्थसहित विकासे मन्त्रालय सम्हालेको अनुभव रहेको र १२ वर्षपछि फेरि अर्थ मन्त्रालयको नेतृत्वमा आएकाले पुँजीगत खर्च बढाउने गरी काम गर्ने विश्वास पुनले दिलाए ।

मन्त्री पुनले विश्व बैंकको लगानीमा निर्माण हुने भनिएको महत्वाकांक्षी माथिल्लो अरुण जलविद्युत आयोजना, प्रदेश तथा स्थानीय सडक, डिजिटल नेपालसम्बन्धी आयोजनाको काम अगाडि बढाइने बताए ।

भेटमा डाइरेक्टर जेर्बोसले विश्व बैंकको लगानीमा सञ्चालित आयोजनाहरुको प्रगति सन्तोषजनक बनाउन सरकारका तर्फबाट गर्नुपर्ने समन्वयका लागि मन्त्री पुनको ध्यानाकर्षण गराए । उनले विश्व बैंकले निर्माण गर्दै गरेको नयाँ साझेदारी रणनीतिको खाकाबारे समेत मन्त्री पुनलाई अवगत गराए ।

उनले आगामी जुनमा काठमाडौंमा हुने विश्व बैंकअन्तर्गतको अन्तर्राष्ट्रिय विकास संघ (आईडीए) २१ सम्बन्धी बैठकको तयारीबारे मन्त्री पुनलाई जानकारी दिएका थिए ।

आईडीएले विकासोन्मुख मुलुकका लागि वित्तीय सहायता, सहुलियतपूर्ण ऋण र अनुदान प्रदान गर्दै आएको छ ।