• Menu

विदेशी मुद्रा सञ्चिति १३ अर्ब ८९ करोड डलर, १२.३ महिनाको आयात धान्न पर्याप्त

नेपाल प्रफिट

२०८० फागुन २७, १५:५०

विदेशी मुद्रा सञ्चिति १३ अर्ब ८९ करोड डलर, १२.३ महिनाको आयात धान्न पर्याप्त

काठमाडौं । विदेशी विनिमय सञ्चितिमा व्यापक सुधार भएको छ । रेमिट्यान्स आप्रवाहमा भारी वृद्धि र आयात स्थिर भएका कारण विदेशी मुद्रा सञ्चितिमा उल्लेख्य सुधार भएको हो ।

२०८० असार मसान्तमा १५ खर्ब ३९ अर्ब ३६ करोड रुपैयाँबराबर रहेको कुल विदेशी विनिमय सञ्चिति १९.९ प्रतिशतले वृद्धि भई २०८० माघ मसान्तमा १८ खर्ब ४४ अर्ब ९४ करोड रुपैयाँ पुगेको छ ।

नेपाल राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिअनुसार अमेरिकी डलरमा यस्तो सञ्चिति २०८० असार मसान्तमा ११ अर्ब ७१ करोड रहेकोमा २०८० माघ मसान्तमा १८.६ प्रतिशतले बढेर १३ अर्ब ८९ करोड पुगेको छ ।

कुल विदेशी विनिमय सञ्चितिमध्ये राष्ट्र बैंकमा रहेको सञ्चिति २०८० असार मसान्तमा १३ खर्ब ४५ अर्ब ७८ करोड रहेकोमा २०८० माघ मसान्तमा २०.७ प्रतिशतले वृद्धि भई १६ खर्ब २३ अर्ब ९२ करोड रुपैयाँ पुगेको छ ।

बैंक तथा वित्तीय संस्था (राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०८० असार मसान्तमा १ खर्ब ९३ अर्ब ५९ करोड रहेकोमा २०८० माघ मसान्तमा १४.२ प्रतिशतले वृद्धि भएर २ खर्ब २१ अर्ब २ करोड रुपैयाँ कायम भएको छ ।

२०८० माघ मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २२.६ प्रतिशत छ ।

आर्थिक वर्ष २०८०/८१ को सात महिनाको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १४.७ महिनाको वस्तु आयात र १२.३ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ ।

२०८० माघ मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरु क्रमशः ३४.३ प्रतिशत, १०२.४ प्रतिशत र २८.० प्रतिशत छन् । २०८० असार मसान्तमा यी अनुपातहरु क्रमशः २८.६ प्रतिशत, ८३.० प्रतिशत र २५.० प्रतिशत थिए ।

प्रतिक्रिया दिनुहोस्