• Menu

माघमा महँगी ५.०१ प्रतिशत, तराईमा सबैभन्दा कम मूल्यवृद्धि

नेपाल प्रफिट

२०८० फागुन २७, १५:३३

माघमा महँगी ५.०१ प्रतिशत, तराईमा सबैभन्दा कम मूल्यवृद्धि

काठमाडौं । माघमा महँगी ५.०१ प्रतिशतमा झरेको तथ्यांक नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको छ । राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिअनुसार वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ५.०१ प्रतिशत छ ।

गत वर्ष माघमा मुद्रास्फीति ७.८८ प्रतिशत थियो । समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ६.५१ प्रतिशत र गैरखाद्य तथा सेवा समूहको मुद्रास्फीति ३.८५ प्रतिशत छ ।

खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत मरमसला उपसमूहको वार्षिक बिन्दुगत मूल्य सूचकांक ३२.११ प्रतिशत, दाल तथा गेडागुडीको ११.१५ प्रतिशत, दुग्ध पदार्थ तथा अण्डाको १०.७८ प्रतिशत, खाद्य तथा खाद्यजन्य पदार्थको ९.०६ प्रतिशत र तरकारीको ७.५८ प्रतिशतले बढेको छ भने घ्यू तथा तेल उपसमूहको वार्षिक बिन्दुगत मूल्य सूचकांक १२.३३ प्रतिशतले घटेको छ ।

माघमा गैरखाद्य तथा सेवा समूहअन्तर्गत मनोरञ्जन तथा संस्कृति उपसमूहको वार्षिक बिन्दुगत मूल्य सूचकांक १२.६१ प्रतिशत, विविध वस्तु तथा सेवाहरुको ९.१५ प्रतिशत र शिक्षाको ७.३१ प्रतिशतले बढेको छ भने यातायात उपसमूहको वार्षिक बिन्दुगत मूल्य सूचकांक १.४१ प्रतिशतले घटेको छ ।

माघमा काठमाडौं उपत्यकाको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ४.९६ प्रतिशत, तराईको ४.७१ प्रतिशत, पहाडको ५.५८ प्रतिशत र हिमालको ५.४४ प्रतिशत छ । अघिल्लो वर्षको माघमा उक्त क्षेत्रहरुको यस्तो मुद्रास्फीति क्रमशः ८.४७ प्रतिशत, ७.८२ प्रतिशत, ७.३० प्रतिशत र ७.९२ प्रतिशत थियो ।

प्रतिक्रिया दिनुहोस्