• Menu

सुशासन तथा सेवा प्रवाह प्रभावकारी भएमात्र लोकतन्त्रको लक्ष्य पूरा हुन्छ : राष्ट्रपति

नेपाल प्रफिट

२०८० फागुन २७, १५:१४

सुशासन तथा सेवा प्रवाह प्रभावकारी भएमात्र लोकतन्त्रको लक्ष्य पूरा हुन्छ : राष्ट्रपति

काभ्रे । राष्ट्रपति रामचन्द्र पौडेलले जनचाहनाअनुरुप सुशासन, सेवा र सुविधा सरल, सहज एवं प्रभावकारी तवरले दिन सकिएमात्र संविधान र लोकतन्त्रले परिकल्पना गरेको लक्ष्य पूरा हुने बताएका छन् ।

मण्डनदेउपुर नगरपालिकाको सातौं स्थापना दिवस तथा नवनिर्मित प्रशासकीय भवनको आइतबार उद्घाटन गर्दै उनले संविधानको भावना तथा संघीयताको मर्मअनुरुप हुनेगरी राज्यबाट प्रवाह हुने सेवा तथा विकास निर्माणसम्बन्धी कामलाई नतिजामुखी र नागरिकले अनुभूत गर्न सक्नेगरी सम्पादन गर्न र सुशासन प्रत्याभूत गर्न स्थानीय निकाय दत्तचित्त हुनुपर्नेमा जोड दिए ।

उनले विकास, पूर्वाधार, कृषि, शिक्षा, सडक, खानेपानी, बिजुलीसहित जनताका आधारभूत आवश्यकता पूरा गर्नुपर्ने बताए ।

‘कृषि, पर्यटन र ऊर्जा नै हाम्रो मुलुकको विकासको आधार हो, त्यसका लागि श्रमको सम्मान गर्ने संस्कृतिको विकास आवश्यक छ,’ राष्ट्रपति पौडेलले भने, ‘स्थानीयस्तरमा गुणस्तरीय, प्रविधिमा आधारित प्रतिस्पर्धी र प्राविधिक शिक्षा दिएर उत्पादन र रोजगारी बढाउने काम गर्न सकिएमात्र राजनीतिक परिवर्तनपछि मुलुकले अपेक्षा गरेको आर्थिक क्रान्तिको सपना साकार हुन्छ, हाम्रो संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रले अपेक्षा गरेको गरीव, सीमान्तकृत, पिछडिएको वर्गको आर्थिक उन्नतिको अवसरको ढोका खुल्छ ।’

उनले त्यसतर्फ तीनै तहको सरकारको समन्वयकारी भूमिका अपेक्षित भए पनि स्थानीय सरकारको विशेष भूमिका र जिम्मेवारी हुने स्पष्ट पारे ।

उनले संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना गर्दा स्विट्जरल्यान्डको जस्तो ‘स्वशासन’ र गान्धीले कल्पना गरेजस्तो ‘स्वराज’ को सोच अगाडि राखेर नयाँ राज्य संरचना तर्जुमा गरेको बताए ।

‘आज ती सोचहरूले कति साकार रूप लिन गइरहेका छन् र लिन सक्ने हुन् भन्ने कुरा अधिकार प्रत्यायोजनका क्रममा केन्द्रीय सरकारको उदारता एवं लचकता र स्थानीय सरकारको ग्रहणशीलता तथा क्षमतामा बढी निर्भर रहन्छ भनेर म सबैलाई सुझाउन चाहन्छु,’ राष्ट्रपति पौडेलले भने ।

राज्यको पुन:संरचनाको क्रममा स्थानीय तहको गठन भई संघीयता कार्यान्वयन भएको यो अवधिसम्म पनि देशका कतिपय स्थानीय तहमा भौतिक पूर्वाधार तयार हुन नसकेका बेला यस नगरपालिकाले आवश्यक जग्गाको व्यवस्थापन गरी जनतालाई दिने सेवासुविधालाई सहज एवं प्रभावकारी बनाउन आवश्यक सुविधा सम्पन्न प्रशासकीय भवन बनाएकोमा उनले नगरपालिकाको सराहना गरे ।

‘उर्वर कृषिभूमि, हरिया फाँट र मनोरम हिमाली सुन्दर दृश्य देखिने यो नगरपालिकाले कृषि र पर्यटन क्षेत्रबाट मनग्य लाभ लिन सक्ने सम्भावना छ, यस नगरपालिका ‘देउपुर र मण्डन, कृषि र पर्यटन’को अवधारणा लिएर दीर्घकालीन लक्ष्यसहित अघि बढेकोमा मलाई खुसी लागेको छ, यसैबाट नगर र नगरवासीको आर्थिक विकासको ढोका खोल्नेछ भन्ने मैले विश्वास लिएको छु,’ राष्ट्रपति पौडेलले भने ।

मुलुक संघीयतामा रुपान्तरण भएपछि केन्द्रमा रहेका राजनीतिक, आर्थिक तथा न्यायिक अधिकारहरू जनताको घरदैलोनजिक स्थानीय तहसम्म पुर्‍याइएको सन्दर्भमा बृहत्तर सेवा प्रवाह गर्न भौतिक पूर्वाधारको विकास अपरिहार्य रहेको उनको भनाइ छ ।

नगरपालिकाले शैक्षिक गुणस्तर सुधार कार्यक्रम, स्मार्ट कक्षा सञ्चालन, सबै विद्यालयमा आफ्नै इन्टरनेट सेवा पुर्‍याई शिक्षा क्षेत्रमा गरेको प्रगति प्रशंसनीय रहेको उनले बताए ।

मिलेको भूगोल, लेकबेँसीसम्मको हावापानी, राजधानीबाट नजिक, छिमेकी देश चीनसँगको तातोपानी नाकाबाट नजिकको दूरीमा रहेकोले औद्योगिक उत्पादन, कृषि र पर्यटन प्रवर्धनमार्फत आर्थिक समृद्धिको यात्रा तय गर्न सक्ने प्रचुर अवसरलाई यस नगरपालिकाले उपयोग गर्ने विश्वास उनले व्यक्त गरे ।