• Menu

५५ रुपैयाँले सुरु भएको कृष्ण राईको साम्राज्य, कृषिबाटै करोडौँको जग्गाजमिन र भव्य घर

नेपाल प्रफिट

२०८० फागुन २७, १२:३७

५५ रुपैयाँले सुरु भएको कृष्ण राईको साम्राज्य, कृषिबाटै करोडौँको जग्गाजमिन र भव्य घर

सुनसरी । कृषि क्षेत्रमा ‘सम्भावना नभएको’ भन्दै खेतबारी बाँझै राखेर विदेश पलायन हुने युवापुस्ताको संख्या ठूलो छ । देशमै पनि गाउँको उर्वर खेतबारी चट्टै छाडेर सहरतिर मजदुरी गर्नेहरु उत्तिकै छन् । धरानको वसन्तटारका कृष्ण राईले भने कृषि पेसामै ठूलो सम्भावना रहेको देखेका छन् ।

कृषिबाटै नाम र दाम कमाउनु भएको उनी भन्छन्, ‘अल्छी गर्नेलाई कतै सम्भावना छैन, जाँगर हुनेलाई कृषिमा सम्भावना नै सम्भावना छ ।’ सोताङ अर्गानिक कृषि फर्म खोलेर तरकारी र फलफूलको खेतीसँगै कुखुरा, बाख्रा, बंगुरदेखि गाईसम्म पालन गरेका राई वार्षिक करोडौंको कारोबार गर्छन् ।

कृषिबाटै उनले करोडौँको जग्गा जमिन जोडेका छन्, भव्य घर बनाएका छन् । कृषिबाट उनी आफूले मात्र कमाएका छैनन, अरुलाई पनि रोजगारी दिएका छन् ।

कृषिकर्मबाटै उनले धरानमा अढाई बिघा जग्गा जोडेका छन् भने बराह क्षेत्रमा करिब १५ बिघा किनिसकेका छन् । ती जग्गामा कतै विभिन्न तरकारी र फलफूल लगाएका छन् भने कतै ठूलो मात्रामा सयौं प्रजातिका फूलको नर्सरी बनाएका छन् । उनको गोठमा ५५ वटा गाई छन् । ती गाईबाट उत्पादन भएको दूध धरान बजारमा दैनिक पाँच सय लिटर बिक्री गर्छन् ।

त्यस्तै उनको खोरमा अहिले १० वटा बंगुरका माउ छन् । तिनबाट उत्पादन भएका बच्चा बेच्छन् भने मासुका लागि पालिएका बंगुर पनि बेच्छन् । उनले कुखुरा, हाँसलगायतका पन्छी पनि पालेका छन् । घरमै उनले माटोबिना साग फलाउन सकिने हाइड्रोफोनिक प्रविधिबाट सागखेती गरेका छन् भने त्यससँगै माछा पनि पालेका छन् ।

उनको सोताङ अर्गानिक कृषि फर्ममा बुवा, आमा, श्रीमती र छोराले पनि सहयोग गर्छन् । त्यसबाहेक उनले १६ जनालाई रोजगारी दिएका छन् । हालसम्म कृषि क्षेत्रमा उनको लगानी नै करोडौँ पुगिसकेको छ ।

उनले धरान–७ शान्तिपथमा तरकारी तथा फलफूल बिक्री गर्न पसल पनि सञ्चालन गरेका छन् । त्यसबाहेक घरमै किन्न आउनेहरु पनि उत्तिकै हुन्छन् । तरकारी, फलफूल तथा पशुपालनबाट मासिक १२ लाख हाराहारी कमाइ भइरहेको उनले बताए ।

पचपन्न रुपैयाँबाट सुरु

अहिले करोडौँको लगानी पुगेको राईको कृषि फर्मको सुरुआत भने जम्मा ५५ रुपैयाँ लगानीबाट भएको थियो । ‘सुरुमा ५५ रुपैयाँ लगानी गरेर कृषि क्षेत्रमा लागेको थिएँ, त्यहि फैलिँदै अहिले करोडौंको भएको हो,’ उनले भने ।

सामान्य आर्थिक अवस्थाको कृष्णको परिवारसँग पहिला जम्मा ६ कट्ठा जग्गामात्र थियो । त्यसैमा बावुले परम्परागत कृषि कर्म गर्दै आएका थिए । खासै राम्रो उब्जनी हुँदैनथ्यो ।

त्यसबाट जीवन धान्न नै मुस्किल पर्ने अवस्था थियो । करिब २६ वर्षअघि कृष्णले स्कुलबाट फर्किने क्रममा बाटोमा एक जना मान्छेले काँक्राको बीउ किनिरहेको देखे । त्यसपछि बीउ बेच्नेसँग सोधखोज गर्दा राम्रो फल्ने काँक्राको बीउ हो भन्ने जानकारी पाए ।

‘त्यसपछि मैले पनि १० रुपैयाँमा १८ वटा काँक्राको बीउ किनेर ल्याएँ,’ उनले सम्झिए, ‘त्यो बीउलाई मलजल गर्दा जम्मा लगानी ५५ रुपैयाँ पुगेको थियो । त्यसबाट फलेका काँक्रा बिक्री गर्दा ५५० रुपैयाँ कमाएँ । त्यहीँबाट कृषिमा सम्भावना रहेछ भन्ने बुझेर लागि परेको हुँ ।’

कृषिलाई परम्परागतबाट आधुनिक तरिकाले अघि बढाउने सोच भए पनि तालिमको अवसर थिएन । उनका लागि त्यसबेला रेडियो नेपाल र नेपाल टेलिभिजनबाट प्रसारण हुने कृषि कार्यक्रम नै तालिम बने ।

ती कार्यक्रम नियमित सुन्ने र हेर्ने गर्न थाले । पत्रपत्रिकामा कृषिका समाचार देख्नेबित्तिकै पढ्न थाले । ‘कसैले खेतीपातीका विषयमा कुरा गरेको सुनें भने ध्यान दिएर सुन्थेँ, कतै पत्रपत्रिकामा कृषिकाबारे लेखिएको भेटेँ, घरमा ल्याएर मज्जाले पढ्थें । मेरा गुरुहरु तिनै थिए,’ उनले भने ।

खेती र पशुपालन गर्दा समस्या नआउने कुरै भएन । उनले पनि धेरै रोग र विभिन्न समस्या भोगे तर समस्यासँग कहिल्यै हार मानेनन् । यसरी सिक्दै अघि बढाएको कृषि कर्म अहिले उनी अरुलाई पनि सिकाउँछन् ।

उनले केही वर्षअघि बसन्तटारमा ८५ लाख लगानी गरेर आधुनिक कृषि तालिम केन्द्रका लागि भवन निर्माण गरेका छन् । कृषिसम्बन्धी विभिन्न तालिम यसैमा सञ्चालन गर्छन् ।

उनको कृषि फर्ममा अध्ययन भ्रमणमा टाढादेखिका कृषक पनि आउने गरेका छन् । ‘अहिले खेतीपाती र पशुपालन गर्ने तरिकामात्र होइन, आफ्ना उत्पादनलाई कसरी बजारीकरण गर्ने भन्ने विषयमा प्रशिक्षण पनि दिँदै आएको छु,’ उनी भन्छन् ।

अर्गानिक गाउँ

धरान उपमहानगरपालिका–४ मा पर्ने बसन्तटार गाउँ अर्गानिक खेतीका लागि चर्चित छ । यो गाउँमा कृषिलाई व्यवसायीकरण गर्नमा कृष्णकै ठूलो योगदान छ । उनकै प्रेरणाले गाउँभर अहिले कृषि फर्म खुलेका छन् । कृषिबारे बुझ्न आउनेहरुका लागि यो गाउँ पाठशाला जस्तै बनेको छ ।

कृष्णले आफ्नो खेतबारीमात्र होइन, पूरा गाउँलाई नै अर्गानिक बनाउन निक्कै मेहनत गर्नुपरेको थियो । अन्य गाउँलेले जस्तै कृष्णले पनि सुरुका वर्षमा धेरै उत्पादन हुने लोभमा खेतीमा रासायनिक मल र विषादीको प्रयोग गरेका थिए ।

तर केही वर्षमा माटोको उर्वरा शक्ति हराएर उब्जनी घट्न थाल्यो । त्यसपछि उनले किन यस्तो भयो ? भनेर कारण खोजे । धेरैतिर बुझ्दा थाहा भयो, रासायनिक मल र विषादीको प्रयोगले माटोको उर्वरा शक्ति नै हराउने रहेछ ।

बारीमा रासायनिक मल र विषादी प्रयोग गरेर आफैंले गल्ती गरेको महसुस गरी उनले त्यसलाई सुधार्ने बाचा गरे । तर, बिग्रिएको माटो सुधार गर्नु त्यति सजिलो काम थिएन । त्यसका लागि निक्कै मेहनत गर्नुपर्‍यो ।

माटो सुधार्न कृष्णले आफैं जैविक मल उत्पादन गर्न थाले । जैविक वनस्पतिकै विषादी बनाए । जैविक मल र विषादी बनाउने काम अहिले पनि गरिरहेका छन् । ‘रासायनिक मल र विषादी हाल्नु हुँदैन भन्ने बुझेपछि म अर्गानिक खेतीको अभियन्ता बनेको हुँ,’ उनले भने ।

अर्गानिक खेती गर्नका लागि आफ्नो बारीमा मात्र रासायनिक मल र विषादी प्रयोग नगरेर हुने अवस्था थिएन । ‘मैले मेरो बारीमा त रासायनिक मल र विषादी प्रयोग गरिन तर गाउँमा अरुले प्रयोग गरेपछि त्यसको असर मेरो बालीमा पनि पर्ने रहेछ । त्यसो हुँदा अर्गानिक खेती गर्न सम्भव नदेखिएपछि अरुलाई पनि बुझाउने कोसिस गरें र सफल पनि भएँ,’ उनले भने ।

अहिले उनका पाइला पछ्याउँदै बसन्तटार गाउँका १५० घरघुरीले अर्गानिक खेती गर्छन् । त्यसमध्ये ५५ घरको मुख्य आम्दानीको स्रोत अर्गानिक कृषि नै छ ।

बसन्तटार अहिले कृषि अभियन्ताहरुका लागि सिकाइको थलो बनेको छ । कृषिबाट राम्रो आम्दानी गर्नुका साथै अरुका लागि प्रेरणाका स्रोत समेत बनेका कृष्णलाई विभिन्न संघसंस्थाले सम्मान पनि गरेका छन् ।

परिवारसहित कृषिमै रमाइरहेका राई भन्छन्, ‘कृषिमा अलि मेहनत आवश्यक पर्छ तर सम्भावना नै छैन भन्ने कुरा गलत हो । पलायन हुनुभन्दा युवाहरुले आफ्नै ठाउँमा पसिना बगाए देश समृद्ध बन्छ, कसैले पनि परिवार पाल्न विदेश भौंतारिनुपर्ने अवस्था आउँदैन ।’

(रासस)