इलाम । गत वर्षसम्म दुई लाख ५० हजार आम्दानी दिएको इलामका रोङ गाउँपालिका–६ सलकपुरका किसान यामप्रसाद अधिकारीको सुन्तला बगैँचाले यस वर्ष एक लाखमात्र आम्दानी दियो । सुन्तलाको मूल्य घटेर नभई अज्ञात रोगले बोट मरेपछि आम्दानी पनि घटेको हो ।
यस वर्ष बोट मरेका कारण सुन्तला नफलेपछि अधिकारीलाई परिवार चलाउन त्यति सहज छैन । ‘विगतका वर्षहरूमा बर्सेनि सुन्तला बिक्रीबाट दुईदेखि दुई लाख ५० हजारसम्म कमाइ हुन्थ्यो तर यस वर्ष रोगले सुन्तला फलेन,’ उनले भने, ‘बल्लतल्ल एक लाख आम्दानी गरियो, उत्पादन नै नभएपछि आम्दानी पनि घट्यो ।’
व्यावसायिक सुन्तलाखेती गर्दै आएका अधिकारीको बगैँचामा पहिले १५० बोट थिए अहिले यो संख्या घटेर ७० मा सीमित भएको छ । पहिचान नभएको रोगका कारण अधिकांश बोट मरेका छन् । बाँकी बोटमा पनि अन्य समयको जस्तो सुन्तलाका दाना फलेन । फलेका दाना पनि साना र स्वादमा समेत अमिलो हुने गरेको उनले बताए ।
सुरुमा रोगको सामान्यमात्र लक्षण देखिएको थियो । सुन्तलाको बोट फूल फुल्ने बेलामा पात झर्ने, पहेँलो हुने, पात झर्ने र विस्तारै जरा कुहिएर बोट नै मर्ने समस्या उत्पन्न भएको उनले बताए । रोग नियन्त्रणका लागि विभिन्न विज्ञको टोली आए पनि कुनै उपलब्धि नभएको उनले बताए ।
‘हामीले रोग नियन्त्रणका लागि विभिन्न निकायमा हारगुहार गर्यौँ, विज्ञको टोली पनि आउनुभयो,’ उनले भने, ‘तर टोलीले स्थलगत अनुगमन गरे पनि रोग पत्ता लागेन । के कारणले सुन्तलाको बटो मरेको भन्ने कारणसमेत जानकारी गराएन ।’ रोग नियन्त्रणका लागि सम्बन्धित निकायको ध्यान गए सुधार हुने आशा अझै रहेको उनले बताए ।
अधिकारीको मात्र होइन, अन्य किसानको पनि अवस्था उस्तै छ । किसान देवराज खनालले सुन्तलाको बगान नै मासिएको बताए । वार्षिक दुई लाखको सुन्तला बेच्ने गरेका खनालको बगानमा यस वर्ष एक दाना पनि सुन्तला फलेन । ‘मेरो बगैँचामा ६० भन्दामाथि सुन्तलाका बोट थिए, सिजनमा दुई लाखसम्म आम्दानी हुन्थ्यो,’ उनले भने, ‘तर मुख्य उत्पादन दिने बेलामा सबै बोट मरे, यसपटक बेचिएन ।’
व्यावसायिक सुन्तलाखेती गरेका सलकपुरका थुप्रै किसानको बोट मरेका छन् । विगतका वर्षहरुमा ६० हजारको सुन्तला बेच्दै आएका अर्का किसान टार्जन रानामगरले पनि यो वर्ष २० हजारमात्र आम्दानी गरे । सुन्तालको बोट मर्ने समस्या बढ्दो क्रममा रहेको उनको भनाइ छ ।
मुख्य नगदेबालीका रूपमा खेती गरिँदै आएको सुन्तलामा रोगले संक्रमण गर्न थालेपछि धेरै किसान वैकल्पिक खेतीतर्फ लागेका छन् । सलकपुरका २५० किसानले व्यावसायिक सुन्तलाखेती गर्दै आएकोमा रोगको संक्रमणका कारण अहिले करिब ३५ घरधुरीले मात्र सुन्तलाखेती गरिरहेका छन् ।
कुनै बेला सुन्तालको पकेट क्षेत्रका रूपमा घोषणा गरिएको सलकपुरका किसानले लगाएको सुन्तलामा रोगले संक्रमण गरेपछि उत्पादनमा ह्रास आएको किसान अधिकारीको भनाइ छ ।
‘विगतमा यहाँबाट वार्षिक करिब चार करोडको सुन्तला उत्पादन हुने गरेको थियो,’ उनले भने, ‘बगैँचाबाटै प्रतिकिलो १२० रुपैयाँका दरले बेच्दासमेत यो वर्ष करिब एक करोडको मात्र सुन्तला उत्पादन भएछ ।’ यहाँ उत्पादित सुन्तला झापाको चारआली, विर्तामोड, दमक तथा भारतको मिरिक, दार्जिलिङ, सिलगुडीलगायत विभिन्न क्षेत्रमा निकासी हुने गरेको छ ।
मुख्यगरी इलामको रोङ गाउँपालिकाको सलकपुर, माईजोगमाई गाउँपालिकाको नामसालिङ, सूर्योदय नगरपालिकाको कन्याम, पशुपतिनगर तथा इलाम नगरपालिकाको सुम्बेक, बरबोटे, सोयाक र गोदक क्षेत्रमा व्यावसायिक सुन्तलाखेती गरिँदै आएको छ ।