• Menu

बागमती प्रदेशका ११ लाख भेडाबाख्रामा पीपीआरविरुद्धको खोप

नेपाल प्रफिट

२०८० फागुन २४, २०:५५

बागमती प्रदेशका ११ लाख भेडाबाख्रामा पीपीआरविरुद्धको खोप

हेटौंडा । बागमती प्रदेश सरकारले १३ जिल्लाका ११ लाख ४२ हजार ३२७ भेडाबाख्रालाई पीपीआरविरुद्धको खोप लगाएको छ ।

प्रदेश सरकारको कृषि तथा पशुपन्छी विकास मन्त्रालय हेटौँडाले पीपीआर रोग नियन्त्रण तथा रोकथामका लागि फागुन १६ देखि २२ सम्म सप्ताहव्यापी खोप अभियान सञ्चालन गरेको हो ।

मन्त्रालयका प्रवक्ता सुजन कँडेलका अनुसार मकवानपुरमा एक लाख ९१ हजार ९०१,  चितवनमा ८५ हजार १९, रामेछापमा एक लाख पाँच हजार चार सय, सिन्धुपाल्चोकमा ७५ हजार ७०८, दोलखामा ९० हजार ४४७, काठमाडौंमा २२ हजार १४, ललितपुरमा २४ हजार २५, भक्तपुरमा नौ हजार १८५, काभ्रेमा एक लाख २७ हजार, नुवाकोटमा ७४ हजार ७१९, रसुवामा १९ हजार ८३८ र धादिङमा एक लाख ६० हजार ६३६ र सिन्धुलीमा ५१ हजार दुई सय भेडाबाख्रामा पीपीआर रोग विरुद्ध खोप लगाइएको छ ।

बागमती प्रदेशभरिका १५ लाख ८४ हजार भेडाबाख्रामा खोप लगाउने मन्त्रालयको योजना छ । गत वर्ष मन्त्रालयले यही अभियानअन्तर्गत नौ लाख ७९ हजार १८७ भेडाबाख्रालाई पीपीआरविरुद्धको खोप लगाएको थियो ।

मन्त्रालयले खोप अभियान सञ्चालनका लागि खोप केन्द्रविन्दुबाट सम्बन्धित वडा कार्यालय तथा पशुसेवा कार्यालयमा जानकारी गराएर खोप लगाउने कार्य सुरु गरेको थियो ।

सप्ताहव्यापी खोप कार्यक्रमअन्तर्गत पीपीआरविरुद्ध १३ लाख ५० हजारवटा खोप उपलब्ध गराइएको थियो । पीपीआर भेडाबाख्रामा विषाणुको कारण हुने महामारी रोग हो । यो रोग लागेमा बाख्रा वा भेडामा ज्वरो आउने, झोक्राउने, मुख सुक्खा हुने, घाँसपात नखाने उग्राउन छाड्ने लक्षण देखापर्नुका साथै मृत्यु हुने गरेको छ ।

कचेरा लाग्ने, नाकबाट बाक्लो सिँघान बग्ने, गिजा र मुखभित्र घाउ देखिने तथा एकैपटक धेरै बिरामी हुने लक्षण देखिने गरेको छ ।