काठमाडौं । अर्थतन्त्रले गति नसमात्दा चरम निराशा व्याप्त रहिरहेका बेला अर्थ मन्त्रालयको जिम्मेवारी माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले पाएका छन् । नवनिर्मित एमाले-माओवादी सत्ता गठबन्धनले पुर्वअर्थमन्त्री पुनलाई देशको ढुकुटीको चाबी जिम्मा लगाएको हो ।
पुन यसअघि २०६८ भदौ १८ देखि २०६९ चैत १ सम्म अर्थमन्त्री भएका थिए । तर, उनले बजेट ल्याउन पाएका थिएनन् । यसपटक भने देशलाई आर्थिक गति दिने बजेट बजेट बनाएर जस बटुल्ने अवसर पुनले पाएका छन् ।
अर्थ मन्त्रालयको दोस्रो पटक नेतृत्व गरेका पुन यसअघि शान्ति तथा पुनर्निर्माणमन्त्री र उर्जा, जलस्रोत एवं सिँचाइमन्त्री भएका थिए ।
पिता इखराम पुन र माता तिर्थमालीको दोस्रो सन्तानका रुपमा वर्षमान २०२८ साल जेठ १८ गते रोल्पाको जंकोटमा जन्मिएका हुन् । उनले २०४४ सालमा एलएलसी पास गरेका थिए ।
२०४५ सालमा दाङको महेन्द्र बहुमुखी क्याम्पसमा आईएल भर्ना भएपछि उनले राजनीति पनि सुरु गरे । उनले २०४८ सालमा प्रथम श्रेणीमा आईएल पास गरे भने २०४९ सालमा काठमाडौंको नेपाल ल क्याम्पसमा बीएल सुरु गरे । उनले कानुनमा स्नातक सकेका छन् ।
पुन पहिलो पटक नेकपा माओवादीका तर्फबाट ललितपुर क्षेत्र नम्बर १ बाट चुनाव लडेर विजयी भएका थिए । २०७९ मंसिरमा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा उनले रोल्पाबाट जित हात पारे ।
देशमा आर्थिक गतिविधि सुस्ताएर चरम निराशा छाएका बेला अर्थमन्त्री बनेका पुनसँग कुशल र सफल अर्थमन्त्री बन्ने अवसर छ । पार्टीगत र व्यक्तिगत स्वार्थभन्दा माथि उठेर उद्योग व्यवसायको वातावरण बनाउन सके भने उनले पाएको अवसर खेर जाने छैन ।
यस्तो छ अर्थतन्त्रको अहिलेको अवस्था
अहिले अर्थतन्त्रका केही सूचक बलिया बनेका छन् भने केही निकै कमजोर नै छन् । पहिलो त्रैमासको आर्थिक वृद्धि ३.२ प्रतिशत छ भने २०८० पुस मसान्तसम्मको तथ्यांकअनुसार मूल्यवृद्धि ५.२५ प्रतिशत छ ।
त्यस्तै पुससम्मको विदेशी विनिमय सञ्चिति १८ खर्ब १६ अर्ब छ भने भुक्तानी सन्तुलन २ खर्ब ७३ अर्ब रुपैयाँ छ ।
फागुन २३ सम्मको बजेट खर्च ७ खर्ब ६० अर्ब ३८ करोड रुपैयाँ अर्थात् ४३.४२ प्रतिशत छ । पुँजीगत बजेट ७४ अर्ब २७ करोड रुपैयाँमात्र अर्थात् २४.५९ प्रतिशत छ भने चालु खर्च ५ खर्ब ६१ अर्ब ४ करोड अर्थात् ४९.१४ प्रतिशत छ ।
माघसम्मको सार्वजनिक ऋण २३ खर्ब ८६ अर्ब नाघेको छ । त्यस्तै रेमिट्यान्स आप्रवाह पुससम्ममा ७ खर्ब ३३ अर्ब छ भने माघसम्ममा विदेशी लगानी २२ अर्ब ६८ करोड रुपैयाँ भित्रिएको छ ।