• Menu

सुरु भयो मन्त्रालय बाँडफाँडको रस्साकस्सी : गृहमा एमाले र रास्वपा, अर्थमा एमाले र माओवादीको दाबी

नेपाल प्रफिट

२०८० फागुन २२, १२:३५

सुरु भयो मन्त्रालय बाँडफाँडको रस्साकस्सी : गृहमा एमाले र रास्वपा, अर्थमा एमाले र माओवादीको दाबी

काठमाडौं । सत्ता गठबन्धनले सरकारमा सहभागी हुने दलहरुको टुंगो लगाइसकेपछि मात्र मन्त्रालय भागबण्डाको टुंगो लगाउने भएका छन् । सोमबार बनेको नेकपा एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र जनता समाजवादी पार्टी (जसपा)बीच सरकारमा सहभागी हुने दलहरुको टुंगो लागेपछि मात्र मन्त्रालय टुंग्याउने सहमति बनेको हो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुविधाजनक बहुमत सुरक्षित गर्न माधव नेपाल नेतृत्वको एकीकृत समाजवादीलाई पनि गठबन्धनमा समेट्नुपर्ने बताएपछि दलहरुले मन्त्रालय बाँडफाँडलाई केही पछाडि धकेलेका हुन् । तर, कसले कुन मन्त्रालय लिने भन्नेमा ठुलै रस्साकस्सी सुरु भइसकेको छ ।

नेकपा एमालेको सचिवालय बैठकले सोमबार बिहान नै उपाध्यक्ष विष्णुप्रसाद पौडेललाई अर्थमन्त्री बनाउने निर्णय गरिसकेको छ । यता, माओवादी अध्यक्ष दाहाल उपमहासचिव वर्षमान पुनलाई अर्थ मन्त्रालयको जिम्मा दिने तयारीमा छन् । दुवै नेता एमाले–माओवादी सहकार्यका मुख्य पैरवीकर्ता हुन् ।

विगतमा तीन पटक अर्थमन्त्री बनिसकेका पौडेल खासै विवादमा छैनन् । उनी सेयर बजारमैत्री मनिन्छन् । एमालेले सचिवालय बैठकबाटै उनलाई अर्थमन्त्री बनाउने निर्णय भएपछि सोमबार सेयर बजार परिसूचक ११७ अंकले बढेको थियो ।

पूर्वअर्थमन्त्री पुन पनि विवादरहित ढंगले अर्थ मन्त्रालयको नेतृत्व गरेका नेता हुन् । तर, अर्थ मन्त्रालयको नेतृत्व कसले पाउँछ भन्नेमा अन्योल बढेसँगै सेयर बजार परिसूचक मंगलबार १२ बजेसम्ममा ५५ अंकले ओरालो लागेको छ ।

गृहमा पनि एमाले र रास्वपाको दाबी छ । रास्वपाले गृहसहित ४ मन्त्रालय दाबी गरिरहेको छ । पार्टी उपसभापति एवं नवनियुक्त बिनाविभागीय मन्त्री डीपी अर्याल रास्वपाले गृह मन्त्रालय पाउने बताउँछन् ।

गृहमा अरुको दाबी भए पनि रास्वपाले पाउने उनले बताए । ‘यसमा पहिला नै प्रधानमन्त्रीसँग प्रस्ट कुराकानी भइसकेको हो,’ उनले नेपाल प्रफिटसँग भने, ‘प्रधानमन्त्री यसमा स्पष्ट हुनुहुन्छ ।’

रास्वपाबाट उपप्रधानसहित गृह मन्त्रालयको नेतृत्व गर्दै सभापति रवि लामिछाने सरकारमा जानेछन् । उपसभापति अर्यालले सोमबार नै पद तथा गोपनीयताको शपथ लिइसकेका छन् ।

गृह मन्त्रालय नपाए सरकारमा जानुको औचित्य नै नरहने रास्वपाको ठहर छ । ‘यति ठूलो मूल्य चुकाएर पुराना पार्टीमा जानु छ, त्यो पनि गृह नै पाइएन भने त औचित्य नै हुँदैन नि !’ मन्त्री अर्यालले भने, ‘रास्वपा प्रधानमन्त्रीको निकै आग्रहपछि सरकारमा सहभागी भएको छ, हामीले पहिला नै स्पष्टसँग हाम्रा कुरा भनेका छौं ।’

प्रधानमन्त्री प्रचण्डले कांग्रेसका मन्त्रीहरुबाट सोचेजस्तो र परिणाममुखी काम हुन नसकेकाले आफूहरुलाई सरकारमा आउन पटक-पटक आग्रह गरेको उनले बताए । ‘हामी सरकारमा जाने पक्षमा थिएनौं,’ उनले भने, ‘तर प्रधानमन्त्रीबाट पटक-पटक आग्रह भएको र हामीसँग धेरै आशा गरेको पायौं, त्यही भएर केही सर्तसहित सरकारमा सहभागी हुँदैछौं ।’

रास्वपाबाट सरकारमा सहभागी हुने मन्त्रीहरुलाई कुनै हस्तक्षेप हुन नहुने विषयमा पनि आफूहरुले प्रधानमन्त्रीसँग स्पष्ट कुरा राखेको उनले बताए । ‘हामी गर्न चाहन्छौं,’ उनले भने, ‘संसदको चौथो ठूलो दल भएकाले पनि हामी पन्छिन मिल्दैन भनेर सरकारमा जाने निर्णय गरेका हौं, हामीले राखेका सर्तहरु पूरा हुनुपर्छ, केही गरेर देखाउँछौं ।’

एमालेले भने गृह मन्त्रालय पाए कसलाई पठाउने भन्ने बाहिर आइसकेको छैन । प्रधानमन्त्री दाहालले पनि गृहमा एमाले र रास्वपालाई सहमति गरेर आउन भनिसकेका छन् ।