• Menu

पोखरामा सवा अर्ब लगानीमा टेम्पल बेल बुटिक होटल स्थापना

नेपाल प्रफिट

२०८१ चैत २७, बुधबार १०:५९

पोखरामा सवा अर्ब लगानीमा टेम्पल बेल बुटिक होटल स्थापना

कास्की । पर्यटन राजधानी पोखराको लेकसाइडमा एक अर्ब २५ करोड लगानीमा टेम्पल बेल बुटिक होटल एन्ड स्पा प्रालि सञ्चालनमा आएको छ । पर्यटन व्यवसायी विश्वराज पौडेल र भीष्मराज पौडेल नेतृत्वको चिल्ली ग्रुपले होटल सञ्चालनमा ल्याएको हो ।

नेपाली मौलिकता र अन्तर्राष्ट्रिय स्तरको सुविधासहितको होटल ‘बुटिक’ अवधारणामा निर्माण गरिएको होटलका अध्यक्ष पौडेलले जानकारी दिए । पोखराको प्राकृतिक सौन्दर्य, सांस्कृतिक विविधता र आतिथ्य परम्परालाई समेट्दै ‘टेम्पल बेल बुटिक होटल’ सञ्चालनमा ल्याइएको उनले बताए ।

नेपाली काष्ठकला, ढुंगा, ढाका, थान्का, झुमर तथा पेन्टिङले होटल सजाइएको छ । पर्यावरणमैत्री शैलीमा सजाइएको कोठा, करिडोर र खुला क्षेत्रले आगन्तुकलाई आत्मीयता र मौलिकता प्रदान गर्ने विश्वास लिइएको छ ।

करिब साढे दुई रोपनी क्षेत्रफलमा निर्माण भएको होटलमा दुईवटा इन्टरकनेक्टेड ब्लकहरू, ५५ वटा रुमका साथै स्विमिङ पुल, स्पा, सम्मेलन हल, बार, रेस्टुरेन्टलगायतका सुविधा छन् । ग्रुपले अहिले १५० जनालाई रोजगारी दिएको छ ।