• Menu

नेपाललाई ग्रे लिस्टबाट बाहिर निकाल्न के गर्दैछ सरकार ?

नेपाल प्रफिट

२०८१ चैत २६, १६:४२

नेपाललाई ग्रे लिस्टबाट बाहिर निकाल्न के गर्दैछ सरकार ?

काठमाडौं । सरकारले नेपाललाई ग्रे लिस्टबाट बाहिर निकाल्न गृहकार्य सुरु गरेको जनाएको छ । सम्पत्ति शुद्धीकरण निवारण निर्देशक समितिको आज मंगलबार बसेको बैठकमा नेपाललाई ग्रे लिस्टबाट बाहिर ल्याउन कार्ययोजनालाई अन्तिम रुप दिने र कार्यान्वयन गर्ने निर्णय भएको हो ।

जिम्मेवार निकायहरु, क्रियाकलाप र क्रियाकलाप सम्पन्न गर्ने समयसीमासहित कार्ययोजना कार्यान्वयन गरिने भएको छ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपाललाई ग्रे लिस्टबाट बाहिर निकाल्न कार्ययोजनाअनुसार कार्य गर्दै गर्दा आगामी दिनमा नेपाल ग्रे लिस्टमा नपर्ने गरी दीर्घकालीन हिसाबले काम गर्न आवश्यक रहेको बताए ।

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले नेपाललाई ग्रे लिस्टबाट बाहिर निकाल्न कानुनको कमी नभएको बताए । इच्छाशक्ति लगाएर काम गर्ने हो भने नेपाललाई ग्रे लिस्टबाट बाहिर निकाल्न सकिने धारणा उनले राखे ।

महान्यायाधिवक्ता रमेश बडालले सबै निकायमा संस्थागत सुशासन हुन जरुरी रहेको विचार व्यक्त गरे । मुख्य सचिव एकनारायण अर्यालले सबै निकायबीच समन्वय गरी प्राथमिकताका साथ काम गर्न जरुरी भएको बताए । उनले प्रविधिलाई जोड दिएर कार्ययोजनाअनुसार काम गर्दा नेपाल ग्रे लिस्टबाट बाहिर आउन सक्ने तर्क गरे ।

नेपाल राष्ट्र बैंकका कायम मुकायम गभर्नर निलम ढुंगाना तिम्सिनाले अन्तिम समयमा काम गर्नेभन्दा कार्ययोजनाअनुसार सुरुदेखि नै काम गर्न आवश्यक भएको बताइन् ।

बैठकका सहभागीले जोखिम मूल्यांकन, अन्तरनिकाय समन्वय, नियमन तथा सुरपरिवेक्षण, अनुसन्धान तथा अभियोजन, कसुरजन्य सम्पत्तिलगायतका क्षेत्रमा काम गर्न जरुरी रहेको धारणा राखे । कानुनमा भन्दा कार्यान्वयनमा जोड दिन आवश्यक भएको उनीहरुको सुझाव छ । नेपाल फागुन ९ देखि फाइनान्सियल एक्सन टाक्स फोर्स (एफएटीएफ) को ग्रे लिस्टमा परेको छ ।

प्रतिक्रिया दिनुहोस्