काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादीलाई कसैले उपयोग गर्न नसक्ने बताएका छन् । उनले माआवादी कहिल्यै पनि उपयोग नहुने स्पष्ट पारे ।
सहिद सप्ताहअन्तर्गत शहिद प्रतिष्ठान नेपालले सोमबार आयोजना गरेको ‘शान्ति प्रक्रिया, संघीय लोकतान्त्रिक गणतन्त्र र आजको राजनीति’ कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले माओवादीको आफ्नै गतिशील पहिचान रहेको बताए ।
‘साँचो कुरा हो, माओवादी सिद्धान्त र विचारका दृष्टिले जमेको पोखरीजस्तो गरेर बस्ने होइन, गडगडाउँदो नदीजस्तो बग्छ,’ उनले भने, ‘निरन्तरतामा रमाएर स्थिरतामा बस्न सक्दैन । निरन्तरतामा क्रमभंग गर्दै नयाँ परिस्थिति सिर्जना गर्दै अगाडि बढ्ने शाक्ति हो ।’
शहिद सप्ताहको अन्तिम दिन अर्थात् सुखानीमा सहादत भएको दिन निरन्तरतामा क्रमभंग भएको उनले बताए । ‘माओवादी नेपाली जनताको घोडा हो, अरु कसैको घोडा होइन,’ उनले भने ।
आजको दिनमा जे कुरा भएको छ, त्यो सानो नभएको र यो परिवर्तनलाई राम्रोसँग बुझ्नुपर्ने उनले बताए । ‘सबै क्रान्तिकारी एकताबद्ध हुनुपर्ने आवश्यकता छ, खिइँदै, सुक्दै जानु भएन, यो हुँदैन,’ प्रधानमन्त्रीले भने ।
प्रतिक्रियावादीले आफूलाई घेरा हाल्दै आएको उनले बताए । प्रधानमन्त्री प्रचण्डले निरन्तर परिवर्तनका पक्षमा लाग्ने पनि स्पष्ट पारे । ‘सबैले एकताबद्ध हुने अठोट गर्नुपर्छ,’ उनले भने, ‘क्रान्तिकारीले ठूला कुरा गर्नेभन्दा सबै एक ठाउँमा हुने बाटो खोजौँ, त्यो वैज्ञानिक हुन्छ, त्यो क्रान्तिकारी हुन्छ ।’
आफूले समाजवादी मोर्चामात्र नभएर बृहत्तर कम्युनिस्ट एकताको पहल गरिरहेको उनले जानकारी गराए । प्रधानमन्त्री प्रचण्डले शहिदका सपना पूरा गर्न दुष्मनका घेराबन्दी तोड्दै अगाडि बढ्ने अठोट व्यक्त गरे ।
‘क्रान्तिको बाटो सोझो हुँदैन,’ उनले भने, ‘मानिस दुई खुट्टाले हिँड्नुपर्छ, कहिले दायाँ र कहिले बायाँ खुट्टा अगाडि जान्छ, मार्स्कवाद भनेको गन्तव्यमा पुग्नका लागि दुई खुट्टाले हिँड्नुपर्छ ।’
नेपालले वैज्ञानिक र सन्तुलित भू-राजनीतिक परराष्ट्र नीति अपनाएर अगाडि बढ्नुपर्नेमा जोड दिँदै प्रधानमन्त्रीले प्रचण्डले त्यसका लागि ध्यान दिनुपर्ने बताए । उनले राष्ट्र र जनताप्रति आफू जिम्मेवार भएर अगाडि बढ्ने स्पष्ट पारे ।