कञ्चनपुर । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको पूर्वी क्षेत्र अर्जुनीमा बाघ-चितुवा लगायतका जनावरलाई उद्धार गरी राख्नका लागि वन्यजन्तु उद्धार केन्द्र निर्माण अन्तिम चरणमा पुगेको छ । राष्ट्रिय प्रकृति संरक्षण कोषको एक करोड बढीको लगानीमा दुई उद्धार केन्द्र निर्माण भइरहेका छन् । केन्द्रका लागि पूर्वाधार निर्माण अन्तिम चरणमा पुगेको कोषका कञ्चनपुर कार्यालय प्रमुख लक्ष्मीराज जोशीले बताए ।
‘खानेपानी, विद्युत, सिसिटिभी जडानको कार्य हुन बाँकी छ’ उनले भने, ‘केन्द्रको चारैतिर सडक (पहुँच मार्ग) निर्माण भइरहेको छ,भने घेरबार राख्ने कार्य हुन बाँकी रहेको छ ।’ केन्द्रको भौतिक पूर्वाधार निर्माणको पूरा हुनै लागेपनि अन्य कार्यका लागि दातृ निकायको खोजी गरी रहेको उनले उल्लेख गरे । ‘बाघ-चितुवा लगायतका जनावरलाई निकुञ्जको मध्यवर्ती क्षेत्रबाट उद्धार गरेर ल्याएपछि खुवाउने आहाराको व्यवस्थाका लागि पनि आवश्यक बजेटको जोहो मिलाउने कार्य हुन बाँकी छ’ जोशीले भने, ‘त्यसको प्रबन्धका लागि कार्य अगाडि बढाउनु छ ।’
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका सूचना अधिकारी पुरुषोत्तम बाग्लेले केन्द्र निर्माणका लागि निकुञ्ज कार्यालयले प्राविधिक सहयोग र निर्माणका लागि जग्गा व्यवस्थापनसँगै अनुमति दिने कार्य गरेको बताए । ‘पूर्वाधार निर्माणको सम्पूर्णकार्य एनटिएनसीले गरेको छ’ उनले भने, ‘एक-दुई महिनाभित्रै केन्द्र पूर्णरुपमा निर्माण भइसक्छ ।’
मध्यवर्ती क्षेत्रबाट उद्धार गरी ल्याउने बाघ-चितुवा लगायतका अन्य जनावरको केन्द्रमा राखेर स्वास्थ्य परीक्षणको कार्यसँगै उपचार गरेपछि सुरक्षित स्थानमा छाडिने उनले बताए ।
नरभक्षी भएका बाघ-चितुवालाई उद्धार गरेर ल्याएपछि आनीबानीमा सुधार नहुँदासम्म केन्द्रमा राखिने र त्यसपछि सुरक्षित स्थानमा छाडिने उनको भनाइ छ । उनका अनुसार अलपत्र अवस्थामा फेला परेका, अशक्त, घाइते र समस्याग्रस्त जीवजन्तुको उद्धार गरी केन्द्रमा राखेर पालनपोषणको कार्य गरी बासस्थानमा पुनःस्थापन गर्न सघाउ पुग्ने उहाले बताए ।
आधुनिक शैलीमा जीवजन्तुलाई राख्नका लागि निर्माण भइरहेको केन्द्र सुदूरपश्चिम क्षेत्रमा पहिलो रहेको छ । भने चितुवा लगायतका जनावरलाई उद्धार गरी राख्नका लागि डडेल्धुरामा एनटिएनसीले खोर यस अघिनै निर्माण गरी सञ्चालनमा ल्याएको थियो ।
निकुञ्जमा बाघ-चितुवालगायतका जनावरको सङ्ख्यामा वृद्धि भएपछि मध्यवर्ती क्षेत्रका बासिन्दाको खेतबारीमा देखिन थालेका छन् । गत साता बेलौरी नगरपालिकामा र साउन महिनामा दोधारा चाँदनी नगरपालिका क्षेत्रबाट निकुञ्ज कार्यालयले दुई वटा बाघको सकुशल उद्धार गरी सुरक्षित स्थानमा छाडेको छ ।
प्रत्येक महिना निकुञ्जको मध्यवर्ती क्षेत्रका बस्तीमा चितुवा देखिने गरेको छ । निकुञ्ज र कोषको टोलीले उद्धार गरी सुरक्षित स्थानमा छाडने कार्य गर्दै आएका छन् । उद्धार केन्द्र नहुँदा निकुञ्जलाई उद्धार गरिएका जनावर राख्नका लागि समस्या हुदै आएको थियो ।
केन्द्र निर्माणको कार्यले जीवजन्तुको उद्धार गरी राख्नका लागि सहज हुने भएको छ । यस कार्यले उद्धार गरिएका जीवजन्तुलाई पुरानै बासस्थानमा पुनः स्थापन गराउन पनि सहयोग पुग्ने भएको छ । उद्धार गरी केन्द्रमा राखिएका स्वस्थ्य वन्यजन्तुलाई शैक्षिक प्रयोजनका लागि अध्ययन अनुसन्धान गर्न सकिने बताइएको छ ।