• Menu

हेटौंडा सिमेन्ट उद्योग ५ महिनापछि पुनः सञ्चालन

नेपाल प्रफिट

२०८१ चैत २५, १२:४४

हेटौंडा सिमेन्ट उद्योग ५ महिनापछि पुनः सञ्चालन

मकवानपुर । करिब पाँच महिनापछि हेटौंडा सिमेन्ट उद्योगले आजदेखि पुनः सिमेन्टको उत्पादन सुरु गरेको छ ।

उद्योगमा सिमेन्ट उत्पादनका लागि आवश्यक विद्युत अभावमा बन्द भएको सिमेन्ट उत्पादन विद्युत आपूर्तीसँगै पुनः सुरु भएको जनाइएको छ । चुनढुंगा पेल्नका लागि उद्योगलाई दैनिक आठ मेगावाट विद्युत आवश्यक पर्ने उद्योगका निमित्त महाप्रबन्धक नवीनकुमार कर्णले बताए ।

उद्योगलाई आवश्यक पर्ने एक हजार ९०० मेट्रिक टन कोइला अहिले जगेडामा राखिएको छ । दोस्रो चरणमा गरी करिब चार हजार मेट्रिक टन कोइला बोलपत्र प्रक्रियामार्फत ल्याउने तयारी भइरहेको कर्णले जानकारी दिए ।

२०३३ सालमा हेटौंडाको लामसुरेमा स्थापना भएको उद्योगले २०४३ साल मंसिर २६ गते उद्घाटन गरिएको थियो । तत्कालीन समयमा हेटौंडा उद्योगमा एक अर्ब ५० करोड लगानी गरिएको थियो ।

हाल उद्योगमा प्रशासन, व्यापार महाशाखा, लेखा, भण्डारण, प्राविधिक र मजदुर कर्मचारी गरी १९५ जनाले स्थायी रोजगारीको अवसर प्राप्त गरिरहेका छन् । उद्योगले दैनिक १८ हजार बोरा सिमेन्ट उत्पादनको क्षमता भए पनि हाल १२ हजार बोरा मात्र उत्पादन भइरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्