दाङ । दाङको राजपुर गाउँपालिकाले किसानलाई बेमौसमी तरकारीको बीउ वितरण गरेको छ । किसानको आम्दानी बढाउन र आत्मनिर्भर बनाउन बेमौसमी तरकारीको बीउ वितरण गरिएको गाउँपालिकाले जनाएको छ ।
किसानको मागका आधारमा भिन्डी, करेला, बोडी, सिमी, काँक्रालगायतको बीउ नि:शुल्क वितरण गरिएको गाउँपालिकाका कृषि शाखा प्रमुख रिता भण्डारीले जानकारी दिइन् । पालिकाले वडा नम्बर १, २ र ५ का ४०५ किसानलाई उन्नत जातको बीउ वितरण गरेको छ । उनका अनुसार प्रत्येक वडाका १३५ किसानले बीउ पाएका छन् ।
बीउ वितरण गर्दै गाउँपालिका अध्यक्ष शरदकुमार बुढाथोकीले व्यावसायिक तरकारीखेती गर्ने किसानलाई गाउँपालिकाले सहयोग गर्ने बताए । उनले उत्पादन वृद्धि गर्न र व्यावसायिक बन्न किसानलाई आग्रह गरे ।
त्यस्तै गाउँपालिकाकी उपाध्यक्ष धनपतीदेवि यादवले पालिकाले कृषकमुखी कार्यक्रम सञ्चालन गरेको बताइन् । व्यावसायिक र बेमौसमी तरकारी उत्पादनमा लाग्न सबै किसानलाई उनले आग्रह गरिन् ।
स्थानीय रुपमा उत्पादन भएका तरकारीको बजारीकरणका लागि प्रत्येक हप्ताको शुक्रबार पालिकाले सबै वडालाई पायक पर्ने गरी वडा नम्बर ५ को जङ्हवामा हाटबजारसमेत सञ्चालन गर्दै आएको छ ।