• Menu

नेपालको विकास अभियानले गति लिइसक्यो, समृद्धिको यात्रा सुरु भइसक्यो : अर्थमन्त्री

नेपाल प्रफिट

२०८० फागुन १९, शनिबार १९:४७

नेपालको विकास अभियानले गति लिइसक्यो, समृद्धिको यात्रा सुरु भइसक्यो : अर्थमन्त्री

नुवाकोट । अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपालमा विकासको अभियानले गति लिइसकेको बताएका छन् । नुवाकोटको बेलकोटगढीस्थित बेलकोट भन्ज्याङ माविको स्वर्ण जयन्ती समारोहमा उनले देशमा विकासका गतिविधि चलायमान हुँदै मुलुक समृद्धितर्फ अघि बढेको बताएका हुन् ।

‘सबैको पालो आउँछ, अब आर्थिक वृद्धि गर्ने पालो हाम्रो आएको छ, यसका लागि देशप्रति गौरव गर्नुपर्छ र हामी गर्छौं, हामी गर्न सक्छौं भन्ने आत्मविश्वास जगाउनुपर्छ, नेपालमै हुन्छ, यहीँ केही गर्न सकिन्छ भन्ने आत्मविश्वास बढाऔं,’ उनले भने ।

विगतका वर्षमा देशको राजनीतिक अस्थिरता, द्वन्द्व विनासकारी भूकम्प, कोरोना संक्रमणलगायतका कारणले पछि परेको अर्थतन्त्रलाई लयमा फर्काउँदै विकासको प्रवाह सुरु गरेको उनको भनाइ छ ।

‘अब अर्थतन्त्र ठिक बाटोमा जान्छ, राजस्व करिब १० प्रतिशतले वृद्धि भएको छ । पर्यटकले देश भरिभराउ छ, आउने दिनमा पर्यटकको आगमन अझ बढ्नेछ,’ उनले भने, ‘आत्मविश्वास जगाऔं, विचार पुर्‍याएर लगानी गरियो भने उत्पादन र रोजगारी बढ्छ । उत्पादन र रोजगारी बढेपछि राजस्व बढ्छ । राजस्व बढेपछि राज्यले बजेट दिने क्षमता बढ्छ । बजेटको क्षमता बढ्यो भने विकास निर्माणमा खर्च गर्न क्षमता बढ्छ ।’

देशको अर्थतन्त्र सुधारको लयमा फर्कंदै आएकाले आगामी दिनमा सरकारको प्राथमिकता गुणस्तरीय शिक्षा र रोजगारी सिर्जना गराउन केन्द्रित रहने अर्थमन्त्री महतले बताए ।

‘सम्पत्ति त क्षति हुनसक्छ तर पढेको कुरा कसैले खोस्न सक्दैन । सीप छ, पढाइलेखाइ छ भने जहाँ गएर पनि आम्दानी गर्न सकिन्छ,’ उनले भने, ‘रोजगारी प्राप्त गर्न सकिन्छ, त्यसकारण पढाइलाई प्राथमिकता राख्न म अभिभावकहरुसँग अनुरोध गर्छु ।’

बालबालिकालाई घरमा पनि पढ्ने वातावरण बनाइदिन अर्थमन्त्रीले अभिभावकहरुसँग अनुरोध गरे । ‘स्कुलमा शिक्षक साथीहरुले मेहनत गरेर पढाउनुपर्छ,’ उनले भने, ‘कम्प्युटर शिक्षा विद्यार्थीलाई सानैबाट दिनुपर्छ, इन्टरनेट र कम्प्युटर भयो भने विद्यार्थीले धेरै कुरा सिक्न सक्छन्, शिक्षक पनि कम्युटरबाट पढाउन दक्ष हुनुपर्छ ।’

वैशाखमा हुने अन्तर्राष्ट्रिय लगानी सम्मेलनमार्फत वैदेशिक लगानी भित्र्याउन कोसिस गरिने महतले बताए । ‘असारमा हुने विश्व बैंकको ठूलो सम्मेलन पनि नेपालमै आयोजना गर्न लागेका छौं,’ उनले भने, ‘देश सकारात्मकतर्फ अघि बढेको छ, केही हुन्छ भन्ने भावनालाई जनताको बीचमा पुर्‍याउनुपर्छ, भ्रम र नकारात्मक टिप्पणी बन्द गर्नुपर्छ ।’

बेलकोट भन्ज्याङ माविको स्वर्ण जयन्तीका अवसरमा उनले विद्यालयका लागि आवश्यक भौतिक संरचना निर्माण र गाउँको विकासका लागि सडकसहितको पूर्वाधार विकासमा मागअनुसार प्रबन्ध मिलाउन पहल गर्ने प्रतिबद्धता जनाए ।