काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकारले सुशासनको पक्षमा थप नयाँ योजना तयार पारेको बताएका छन् । गोरखा पत्रकार समाज नेपालका पदाधिकारीसँगको भेटमा शनिबार उनले भ्रष्टाचारविरुद्धको अभियानले निरन्तरता पाउने बताए ।
राष्ट्रियताको विषयमा देश गम्भीर अवस्थामा रहेको भन्दै उनले व्यवस्थाविरुद्ध उठेका आवाजविरुद्ध सचेत हुनुपर्ने आवश्यकता औंल्याए । ‘व्यवस्था परिवर्तन भए पनि जनताको अवस्थामा ठूलो भिन्नता आउन सकेको छैन,’ उनले भने, ‘विकास निर्माणले अपेक्षित गति लिन नसकेकोले जनतामा निराशा छाएको छ ।’
सामाजिक न्यायको जनताले अनुभूत गर्ने गरी काम गर्नुको विकल्प नरहेको उनले बताए । ‘युवा बिदेसिने र उतै पलायन हुने क्रम बढेकाले देश वृद्धाश्रम बन्ने खतरा छ,’ उपप्रधानमन्त्री श्रेष्ठले भने, ‘रेमिट्यान्स आयो भनेर खुसी हुने अवस्था छैन ।’
युवाहरूमा दुर्व्यसनीको सिकार हुने क्रम बढेकाले सरकारले अब देशैभर हरेक पालिकामा रिह्याब सेन्टर खोल्ने अभियान चलाउने तयारी गरेको उनले बताए ।