चितवन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुस्ताएको पर्यटन क्षेत्र उकास्न र राष्ट्रकै पर्यटन प्रवर्धनका निम्ति भरतपुर भ्रमण वर्ष कोसेढुंगा सावित हुने बताएका छन् ।
‘घुमौँ भरतपुर’ भन्ने नारामा सुरु गरिएको ‘भरतपुर भ्रमण वर्ष २०२४’ को शुक्रबार उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले चितवनलाई आर्थिक केन्द्रको रूपमा विकास गर्न कार्यक्रमले महत्त्वपूर्ण योगदान पुग्नेमा आफू विश्वस्त रहेको बताए ।
विशिष्ट पाहुनाहरूबाट १५० वर्षदेखि चितवनका जंगलमा शिकार यात्रा गरेको इतिहास रहेको उल्लेख गर्दै उनले नेपालमा सर्वप्रथम जंगल सफारीको सुरूवात टाइगर टपले मेघौलीनजिक चितवनबाट गरेको स्मरण गरे । ‘यी सबै आधारहरूले ‘भरतपुर भ्रमण वर्ष २०२४’ ले आफ्नो लक्ष्य हासिल गर्नेमा विश्वस्त हुन सकिन्छ,’ उनले भने ।
पछिल्लो ७ वर्षको अवधिमा भरतपुर महानगरपालिकाले विकासको मोडलमा सिंगो देशलाई नै नेतृत्व गरिरहेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले एक दशकअघिको भरतपुर र वर्तमानको भरतपुरमा आम जनसमुदायले गुणात्मक परिवर्तनको अनुभूति गरेको बताए ।
प्रधानमन्त्रीले गौरवका आयोजनाहरू रिङरोड, सिक्स लेन रोड, तटबन्धन, सिटी हल, गौतम बुद्ध अन्तर्राष्ट्रिय रंगशाला, विमानस्थल, नारायणी ‘सी–बिच’ मोडल तथा विभिन्न पूर्वाधारको निर्माण प्रक्रिया सम्पन्न भइसक्दा भरतपुरले नयाँ मानक स्थापित गर्ने विश्वास व्यक्त गरे । उनले देशको अर्थतन्त्र र विकास मोडलमा ‘रोलमोडल’ कायम गर्ने बताए ।
‘विविध प्राकृतिक सम्पदाले समृद्ध चितवनको भरतपुर महानगरपालिका नेपालकै उत्कृष्ट स्थानीय सरकारको सूचीमा अग्रसर महानगरपालिका हो,’ प्रधानमन्त्री प्रचण्डले भने । चितवन देशकै मुख्य आर्थिक केन्द्रका रूपमा विकास हुँदै गएको उनले बताए ।