काठमाडौं । दुग्ध विकास संस्थानले दुध खरिद गरेबापत किसानलाई दिनुपर्ने भुक्तानी तुरुन्त दिन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्देशन दिएका छन् ।
सोमबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा अर्थमन्त्री डा. प्रकाशशरण महत, कृषिमन्त्री डा. वेदुराम भुसाल र मुख्यसचिव डा. बैकुण्ठ अर्याललाई बोलाएर किसानको दुधको भुक्तानी तुरून्तै दिन प्रधानमन्त्रीले निर्देशन दिएका हुन् ।
प्रधानमन्त्रीले निजी क्षेत्रबाट किसानले पाउनुपर्ने भुक्तानी तुरून्त असुली गर्न र भुक्तानी नदिए कारबाहीको प्रक्रिया अगाडि बढाउन पनि निर्देशन दिए ।
‘किसानहरूले महिनौंसम्म दुधको भुक्तानी नपाउनुको कारण के हो, यसलाई गम्भीरतापूर्वक लिनुस्, निजी क्षेत्रबाट किसानलाई भुक्तानी दिनुपर्ने रकमका लागि तत्काल सहजीकरण गर्नुस्,’ प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै सचिवालयका एक सदस्यले भने ।