• Menu

सुनसरीका तीन पालिकाले सडकबत्तीको पाँच करोड बक्यौता तिर्न बाँकी

नेपाल प्रफिट

२०८१ फागुन २७, १४:१५

सुनसरीका तीन पालिकाले सडकबत्तीको पाँच करोड बक्यौता तिर्न बाँकी

सुनसरी । सुनसरीका तीन स्थानीय तहले सडकबत्तीको पाँच करोड ९१ लाख ६० हजार बक्यौता तिर्न बाँकी रहेको छ ।

इटहरी उपमहानगरपालिका, रामधुनी नगरपालिका र बराक्षेत्र नगरपालिकाले सडकबत्तीको बक्यौता तिर्न बाँकी रहेको नेपाल विद्युत प्राधिकरण इटहरी वितरण केन्द्रका प्रमुख रामउदगार साहले जानकारी दिए । बक्यौता तिर्न पटक-पटक सूचना जारी गरे पनि हालसम्म नतिरेको उनले बताए ।

इटहरी उपमहानगरपालिकाले तीन करोड ७७ लाख ४० हजार, बराहक्षेत्र नगरपालिकाले एक करोड ३५ लाख २५ हजार र रामधुनी नगरपालिकाले ७८ लाख ९४ हजार बक्यौता तिर्न बाँकी रहेको छ । प्रमुख साहले भने, ‘बक्यौता रकम तिर्न पालिकालाई पत्र पठाउँदै आएका छौँ ।’

इटहरी वितरण केन्द्रका सूचना अधिकारी सुरज गोसाईंका अनुसार प्रत्येक महिना सडकबत्तीको बिल पालिकालाई पठाउने गरिएको छ । प्राधिकरणले बक्यौता नतिर्नेको विद्युतको लाइन काट्दै आएको छ । चालू आर्थिक वर्ष २०८१/८२ मा साउन महिनायता १२ हजार ८२ जनाको लाइन काटिएको उनले बताए ।