• Menu

पोखरा-मुग्लिन सडकको पश्चिमतर्फ ४३ प्रतिशत भौतिक प्रगति, २०८२ पुससम्म सम्पन्न गर्ने लक्ष्य

नेपाल प्रफिट

२०८१ फागुन २७, ११:३१

पोखरा-मुग्लिन सडकको पश्चिमतर्फ ४३ प्रतिशत भौतिक प्रगति, २०८२ पुससम्म सम्पन्न गर्ने लक्ष्य

कास्की । पोखरा-मुग्लिन सडक आयोजना (पश्चिम खण्ड)को भौतिक प्रगति ४३.३४ प्रतिशत पुगेको छ । कुल ३८.८८ किमी दूरीको उक्त खण्डमा हालसम्म २९.४७ किमी सडक कालोपत्र भएको छ । चार लेनको उक्त सडकमा १५.३२ किमीमा दुईतर्फी र १४.१५ किमीमा एकतर्फी कालोपत्र गरिएको आयोजनाका इन्जिनियर सौजन्य नेपालले जानकारी दिए । उक्त सडक निर्माणको म्याद २०८२ साल पुससम्म छ । यसअघि दुईपटकसम्म म्याद थप भएको थियो ।

पश्चिमतर्फ तनुहँमा दुई किमी सडक मात्र कालोपत्र हुन बाँकी रहेको इन्जिनियर नेपालले बताए । कास्की खण्डमा सडक विस्तार, पूर्वाधार तयारी र कालोपत्रको काम भइरहेको उनले जानकारी दिए । तनहुँको जामुनेदेखि पर्यटन राजधानी पोखरा जोड्ने पश्चिम खण्डमा २०७८ जेठ २ मा सम्झौता भई २०७८ भदौ १२ देखि काम सुरु भएको थियो । एक वर्षभित्र कामसक्ने लक्ष्य लिइएको इन्जिनियर नेपालले बताए ।

चिनियाँ निर्माण कम्पनी यनहुई काइयुयान हाइवे एन्ड ब्रिज कन्स्ट्रक्सनले सडक विस्तार एवं स्तरोन्नति गरिरहेको हो । पोखराको चाउथे, अन्तर्राष्ट्रिय विमानस्थलदेखि अमरसिंह चोक, बूढीबजारलगायत ठाउँमा कालोपत्रको काम भइरहेको इन्जिनियर नेपालले जानकारी दिए ।

पोखरा महानगरपालिका-२७ तालचोकदेखि गगनडौँडासम्मको खण्डमा पनि निर्माणले गति लिएको उनले बताए । पश्चिमतर्फ तनहुँको थर्पु, तुरतुरे, कास्कीको तल्लो गगनगौँडालगायत खण्डमा कालोपत्र भइसकेको छ । तनहुँको जामुनेदेखि पोखराको सेती पुलसम्मको आधा सडक ६ लेन र आधाजति चार लेनको बन्ने इन्जिनियर नेपालले जनाए ।

वियजपुर खोला र सेती नदीमा पुल निर्माण पनि सँगसँगै भइरहेको उनले स्पष्ट पारे । पश्चिम खण्डमा पर्ने १२ वटामध्ये नौ वटा सडक पुल निर्माणको अन्तिम चरणमा रहेको आयोजना कार्यालयले जनाएको छ । चिनियाँ निर्माण कम्पनीले सात अर्ब ४० करोड ४६ लाखमा पश्चिम खण्ड निर्माणको जिम्मा लिएको हो । कुल ८१ किमी दूरीको पोखरा-मुग्लिन सडक एसियाली विकास बैंकको ऋण सहयोगमा विस्तार तथा स्तरोन्नतिको काम भइरहेको हो ।

कुल ४१.४५ किमीको पूर्वी खण्डमा पनि २०७८ वैशाखदेखि निर्माण कम्पनी चाइना कम्युनिकेसन कन्स्ट्रक्सनले काम सुरु गरेको थियो । पूर्वी खण्डमा सडक स्तरोन्नति र कालोपत्रको काम अन्तिम चरणमा पुगेको आयोजना कार्यालयले जनाएको छ ।

सरकारको प्राथमिकता प्राप्त यस सडक आयोजना निर्माणका क्रममा रहेकाले पोखराको यातायात सेवा केही असहज भने बनेको छ । सडक स्तरोन्नति लक्ष्यभन्दा केही ढिलो भइरहेकामा स्थानीयवासीको गुनासो छ ।

गण्डकी प्रदेशको राजधानी जोड्ने मुख्य सडकमार्गको स्तरोन्नतिपछि पोखरादेखि देशका विभिन्न ठाउँको यातायात सेवा सहज र छरितो हुनेछ । चार लेनको उक्त सडकले सिंगो गण्डकी प्रदेशको आर्थिक र पर्यटकीय गतिविधि बढाउन मद्दत पुग्ने विश्वास लिइएको छ । पोखरा आतजावत गर्दा धुलो र हिलो छिचोल्दै घण्टौँको यात्रा गर्नुपर्ने सर्वसाधारणको बाध्यता छिट्टै अन्त्य हुने इन्जिनियर नेपालले बताए ।