• Menu

सात महिनामा भित्रियो साढे ९ खर्ब रेमिट्यान्स

नेपाल प्रफिट

२०८१ फागुन २६, २१:३१

सात महिनामा भित्रियो साढे ९ खर्ब रेमिट्यान्स

काठमाडौं । सात महिनामा साढे ९ खर्ब रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक स्थितिअनुसार विदेशमा रहेका नेपालीले चालु आर्थिक वर्ष २०८१/८२ को साउनदेखि माघसम्मको अवधिमा ९ खर्ब ५८ करोड रेमिट्यान्स भित्रिएको हो ।

समीक्षा अवधिमा विप्रेषण आप्रवाह ७.३ प्रतिशतले वृद्धि भएको हो । रेमिट्यान्स आप्रवाह वृद्धिदर भने घटेको छ । गत वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १८.८ प्रतिशतले बढेको थियो ।

अमेरिकी डलरमा विप्रेषण आप्रवाह ५.३ प्रतिशतले वृद्धि भई ६ अर्ब ६५ करोड पुगेको छ । गत वर्ष रेमिट्यान्स आप्रवाह १६.४ प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा खुद द्वितीय आय (खुद ट्रान्सफर) ९८५ अर्ब १७ करोड पुगेको छ । गत वर्षको सोही अवधिमा खुद ट्रान्सफर ९१० अर्ब ७७ करोड थियो ।

समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत-नयाँ) लिने नेपालीको संख्या २ लाख ७४ हजार ६२२ र पुनः श्रम स्वीकृति लिनेको संख्या १ हजार ९० हजार ८८६ छ । गत वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः २ लाख ४५ हजार ४३२ र १ लाख ५७ हजार ०४५ थियो ।