• Menu

लमजुङको सुन्दरबजार नगरपालिकामा दुई करोड २८ लाखको लागतमा प्रहरी चौकी निर्माण

नेपाल प्रफिट

२०८१ फागुन २६, १७:३५

लमजुङको सुन्दरबजार नगरपालिकामा दुई करोड २८ लाखको लागतमा प्रहरी चौकी निर्माण

लमजुङ । लमजुङको सुन्दरबजार नगरपालिका-७, पाउँदीमा प्रहरी चौकीको भवन निर्माण गरिएको छ । उक्त भवनको सोमबार एक कार्यक्रमबीच प्रहरी नायव महानिरीक्षक फणिन्द्र बरालले उद्घाटन गरे ।

प्रहरी नायव महानिरीक्षक बरालले प्रहरीका लागि स्तरीय भवन आवश्यक भएको बताए । प्रहरीको सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन पूर्वाधार आवश्यक भएको उनको भनाइ थियो । नयाँ भवनबाट प्रहरीलाई कामकाज गर्न सहज हुनुका साथै नागरिक र प्रहरीबीचको सम्बन्धलाई अझ मजबुत बनाउन योगदान पुग्ने उनले बताए । ‘सेवा प्रवाहमा सुधार गर्न पूर्वाधार विकासमा विशेष ध्यान दिएका छौँ,’ प्रहरी नायव महानिरीक्षक बरालले भने ।

कूल दुई करोड २८ लाख ४३ हजारको लागतमा सो भवन निर्माण गरिएको हो । प्रहरी चौकी भवन तीन रोपनी एक आना तीन दाम क्षेत्रफलमा फैलिएको छ ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी बुद्धबहादुर गुरुङ, सुन्दरबजार नगरपालिका–७ का वडाध्यक्ष जयराम रेग्मी, सुन्दरबजार नगरपालिकाका पूर्व नगरप्रमुख जनकराज मिश्रलगायतले आ–आफ्नो धारणा राखेका थिए । सो अवसरमा प्रहरी नायव महानिरीक्षक बरालले भवन निर्माणमा योगदान पुर्‍याउने विभिन्न व्यक्तिलाई प्रशंशापत्र प्रदान गरे ।