काठमाडौं । न्यु बिजनेस एज लि. का अध्यक्ष तथा आर्थिक अभियान दैनिक र न्यु बिजनेस एज म्यागेजिनका प्रधान सम्पादक मदन लम्साल सम्मानित भएका छन् । इकोनोमिक मिडिया एसोसिएसन नेपाल (इमान) ले दोस्रो वार्षिकोत्सव तथा तेस्रो वार्षिक साधारण सभाका अवसरमा लम्साललाई सम्मान गरेको हो ।
‘मुलुकको अर्थतन्त्रमा देखिएका समस्या उजागर गर्दै सुधार गर्नु पर्ने विषय देखाइदिएर लामो समयदेखि आर्थिक पत्रकारिताको गरिमा वृद्धि गर्न यहाँ र यहाँले नेतृत्व गरेको संस्थाले पुर्याएको योगदानको उच्च कदर गर्दछौं,’ सम्मानपत्रमा लेखिएको छ, ‘तपाईं र तपाईंले नेतृत्व गर्नुभएको संस्थाले आर्थिक मिडिया उद्योगको क्षेत्रमा पुर्याएको योगदानको उच्च कदर गर्दै इकोनोमिक मिडिया एसोसिएसन नेपाल (इमान) को दोस्रो वार्षिकोत्सव तथा तेस्रो साधारणसभाका अवसरमा उच्च सम्मान गर्दछौं ।’
सकारात्मक कुराले पत्रकारितालाई नयाँ उचाइमा पुर्याउन सकिन्छ भन्ने न्यु बिजनेस एज उदाहरण बनेको सम्मानपत्रमा लेखिएको छ । सो अवसरमा लम्सालले निजी क्षेत्र र मिडियाको अन्योन्याश्रित सम्बन्ध रहेको उल्लेख गरे । उनले मिडियाको विकासका लागि निजी क्षेत्र चाहिने र निजी क्षेत्रको विकासका लागि मिडिया आवश्यक रहेको धारणा राखे ।