काठमाडौं । बालुवाटारको ललिता निवास रहेको सरकारी जग्गा हिनामिना प्रकरणमा विशेष अदालतले ६५ जनाको जग्गा जफत हुने फैसला सुनाएको छ । न्यायाधीशहरु खुसीप्रसाद थारु, रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले यस्तो फैसला सुनाएको हो ।
विशेष अदालतले बिहीबार कल्पना तुलाधरसहित जग्गा आफ्नो नाममा पार्ने ६५ जनाको जग्गा जफत हुने फैसला गरेको विशेषका प्रवक्ता धनबहादुर कार्कीले पत्रकार सम्मेलनमा जानकारी दिए । उनका अनुसार जग्गा जफत भए पनि उनीहरुमाथि अरु कुनै सजाय र जरिवाना भने हुने छैन ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दामा दायर गरेकामध्ये ६५ जनासँग जग्गा जफत गर्न माग दाबी गरेको थियो । विशेष अदालतले अख्तियारको माग दाबीअनुसार नै जग्गा जफत हुने फैसला सुनाएको छ ।
ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा ल्याउने कार्यमा मन्त्रीदेखि कर्मचारी, तिनका आफन्त र विचौलियासम्म मुछिएका थिए ।